Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सोलो हिरोइन हुने लोभ लागेको हो : आँचल शर्मा

फिल्मीखबर, काठमाण्डौ, 2018/11/13
बोली विपरित काम गर्न थालेपछि अभिनेत्री आँचल शर्माको अहिले चर्को आलोचना भइरहेको छ । फिल्म 'शत्रु गते' हिट भएर पनि एकलौटी जस नपाएको दुखेसो पोख्दै उनले आइन्दा हुलमुलका फिल्म नगर्ने बताएकी थिइन् । जस आफूले मात्र लिन सोलो हिरोइन भएर फिल्म गर्ने उनको अडान थियो । 
 
उनले यो अभिव्यक्ति फिल्म 'ब्ल्याक' रिलिजताका दिएकी थिइन् । 'शतु गते' खेलेर पछुताएको तर्क दिएकी उनी आफ्नो बोलीमा धेरै समय टिक्न सकिनन् । गिनेचुनेका ब्यानरले सोलो हिरोइनमा नपत्याउँदा अन्ततः उनले बोली विपरित निर्णय लिन बाध्य भएकी छन् । फिल्म ‘दाल भात तरकारी’ उनको बोली विपरितको निर्णय हो । 
 
 
मल्टिस्टारर यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्कालाई रिप्लेस गरेर उनी भित्रिएकी छन् । अन्तिम समयमा स्वस्तिमाले समय अभावका कारण उक्त फिल्म छाडेकी थिइन् । आफ्नो बोलीमा टिक्न नसकेको भन्दै अहिले आँचलमाथि मिडिया र दर्शकले प्रश्न उठाएका छन् । यस विषयमा उनले फिल्मको मंगलवार भएको मुहूर्त समारोहमा मुख खोलेकी छन् । 
 
उनले आफूले सोलो हिरोइन भएर फिल्म गर्ने कुरा बोलेको स्विकार गरिन् । भन्छिन्, 'सोलो हिरोइन वा हिरो भएर काम गर्ने हरेक कलाकारको इच्छा हुन्छ र मेरो पनि छ । तर त्यो भन्दैमा मल्टिस्टारसँग काम नै गदिनँ चाहिँ भनेको छैन ।' उनले 'शत्रु गते' खेलेर आफूलाई धेरै फाइदा भएको पनि बताइन् ।
 
'शत्रु गते' खेल्नु मेरो भाग्यको कुरा हो । यो फिल्म खेलेर देश-विदेशमा म चिनिन पाएकी छु'', उनले स्वस्तिमाले छाडेको फिल्म नै किन ? भन्ने प्रश्नको पनि उत्तर दिँदै थपिन्, 'को आउट र को इन भन्दा पनि मलाई भूमिका मन परेर काम गर्न लागेकी हुन् । यो टिमसँग काम गर्दा मलाई घाटा हुँदैन भन्ने लागेर पुनः सहकार्य गरेकी हुँ ।' 
 
सोलो हिरोइन भएर २/४ वटा फिल्म गर्न पाए सबै क्रेडिट आफूले मात्र लिन पाइन्छ भन्ने लोभ आफूमा रहेको उनी निर्धक्क बोल्छिन् । उनले आफूले बोलेको कुरालाई मिडियाले गलत तरिकाबाट प्रस्तुत गरेकोमा पनि चित्त दुखाइन् । फिल्म ‘दाल भात तरकारी’ मा आबद्ध हुन पाउँदा आफूलाई भाग्यमानी ठानेको आँचलको भनाई छ । 
Most Visited News (monthly)