Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दाल भात तरकारी’ को मुहूर्त, पर्दामा पुष्पलको जोडी आँचल

फिल्मीखबर, काठमाण्डौ, 2018/11/13
 
गत वर्ष प्रदर्शनमा आएको ‘शत्रु गते’ टिमको नयाँ फिल्म ‘दाल भात तरकारी’ को बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको ६० औं जन्मदिनको अवसरमा शुभ मुहूर्त गरिएको छ । मंसिर १ गतेबाट फ्लोरमा जाने फिल्मको मंगलवार कमलादीको गणेस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको हो । 
 
अभिनेत्री स्वस्तिमा खड्कालाई रिप्लेस गरेर फिल्ममा भित्रिएकी अभिनेत्री आँचल शर्मा र अभिनेता पुष्पल खड्काले कार्यक्रममा मुहूर्त सट दिएका थिए । ज्योतिषले दिएको समय अनुसार बिहान ८ः३१ बजे फिल्मको मुहूर्त गरिएको थियो । सुदन केसीले निर्देशन गर्ने फिल्म मह संचारको ब्यानरमा निर्माण हुन लागेको हो । 
 
 
किरण केसी प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन करीब २ महिना हुने निर्देशक केसीले बताए । फिल्ममा पुष्पल र आँचलका अलावा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, बर्षा राउतलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेत्री सिंह फिल्मका लागि बुधवार नेपाल ओर्लिदैछिन् । 
 
फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीत हरिवंश आफैंले लेखेका छन् ।
 
 
फिल्ममा पुष्पलको जोडी आँचलसँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ । विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । 
 
निर्माता केसीले 'शत्रु गते' मा भएका कमी कमजोरी ‘दाल भात तरकारी’ मा नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे । अभिनेता पुष्पलले देशका मुर्धन्य व्यक्तित्व आबद्ध फिल्ममा आफू जोडिन पाउनु सौभाग्यको कुरा रहेको बताए । उनले 'मंगलम' भन्दा ‘दाल भात तरकारी’ मा फरक भूमिका रहेको पनि बताए । अभिनेत्री आँचल भने दोस्रो पटक एउटै टिमसँग सहकार्य गर्न पाउँदा दंग देखिन्थिन् । 
 
 
मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेललगायत निर्मातामा छन् । फिल्मको मुहूर्त पश्चात् रेडियो अडियोको आँगनमा कलाकार हरिवंश आचार्यको बर्थडे सेलिव्रेसन गरिएको थियो । 
Most Visited News (monthly)