बोली विपरित काम गर्ने नेपाली कलाकारहरुको पुरानै बानी हो । आवेशमा जे पनि बोलिहाल्छन् तर जब आफ्नै अभिव्यक्तिले समस्यामा पार्छ तब बोली विपरित काम गर्न थाल्छन् । अभिनेता अनमोल केसीले आफ्ना हरेक फिल्मको रिलिज अन्तर ६ महिनाको हुने बताएका थिए । अब 'क्याप्टेन' र 'ए मेरो हजुर ३' डेढ महिनाको अन्तरमा रिलिज हुँदैछन् ।
उता अभिनेता आर्यन सिग्देलले पनि बाहिरी ब्यानरको फिल्म नगर्ने बोले । आफ्नो बोलीको कारण हातमा फिल्म पर्न छाडेपछि उनी बोली विपरित १३ लाख पारिश्रमिक लिएर बाहिरी ब्यानरको फिल्म 'हजार जुनी सम्म' मा अनुबन्ध भए । बोली एउटा र काम अर्को गर्ने कलाकार अनमोल र आर्यन एक प्रतिनिधि पात्र मात्र हुन् ।
.jpg)
यो भीडमा अभिनेत्री आँचल शर्मा पनि समावेश हुन पुगेकी छन् । आफ्नो बोलीले करिअर नै दुविधामा परेपछि अन्ततः उनले बोली फेरेकी छन् । 'शत्रु गते' खेलेर फाइदा नभएको दुखेसो पोख्दै फिल्म 'ब्ल्याक' को एक कार्यक्रममा उनले पीडा पोखेकी थिइन्, 'अब हुलमुलका फिल्म गर्दिनँ । जस त पाइन्न । सोलो हिरोइन भए कमसेकम जस लिन त पाइन्छ ।'
करीब ४ महिनामै उनले आफ्नो बोली फेरेकी छन् । समुहको फिल्म गरेर पछुताएकी उनी पुन: कलाकारको ठूलो भीड रहेको फिल्ममा मिसिएकी छन् । फिल्म हो ‘दाल भात तरकारी’ । 'शत्रु गते' टिमले नै यो फिल्म निर्माण गर्न लागेको होे । अभिनेत्री स्वस्तिमा खड्कालाई रिप्लेस गरेर उनी भित्रिएकी हुन् ।
'जोनी जेन्टलम्यान' र 'ब्ल्याक' मा आँचल सोलो हिरोइन थिइन् । दुबै फिल्म फ्लप भए । न उनको अभिनयको नै प्रशंसा भयो । बरु हुलमुलका फिल्म 'नाई नभन्नू ल ४' र 'शत्रु गते' हिट भए । जस पाउन सोलो हिरोइन मात्र बन्ने अडानले हातमा फिल्म नै पर्न छाडेपछि अहिले उनको बोली नै परिवर्तन भएको छ ।
‘दाल भात तरकारी’ मा भित्रनु उनको बोली विपरितको निर्णय हो । उक्त फिल्ममा अनुबन्ध भएसँगै उनको बोलीमाथि दर्शक र मिडियाले प्रश्न उठाएका छन् । हुनपनि, बोली पूरा गर्न नसक्ने भए किन बोल्नु आँचलजी ?

