Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमिरको ‘ठग्स’ ले लुट्यो नेपाली मल्टिप्लेक्स

फिल्मीखबर, काठमाण्डौ, 2018/11/07
नेपाली फिल्मलाई प्रयाप्त सोज बाँड्न नाक खुम्च्याउने मल्टिप्लेक्स हल सञ्चालकहरु बलिउड र हलिउड फिल्म रिलिज हुँदा भने छाती ठूलो बनाउने गर्छन् । विदेशी फिल्मले सर्वाधिक सोज पाउँदा नेपाली फिल्म २/४ सोजमा खुम्चिनु पर्ने अवस्था ज्यूँकात्यूँ छ । दर्शकमा विदेशी फिल्मको मोह बढ्नुले पनि यो अवस्था सृजना भएको मानिन्छ । 
 
वर्षमा एकाध नेपाली फिल्मले मात्र सोज संख्यामा चित्त बुझाउन पाएका छन् । हुनत, मल्टिप्लेक्सहरु नेपाली फिल्मलाई नभई विदेश फिल्म चलाउन निर्माण भएको आरोप लाग्दै आइरहेको छ । बिहीवारबाट नेपाली हल कब्जा गर्न बलिउड सुपरस्टार आमिर खानको प्रवेश हुँदैछ । उनी अभिनीत फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को भारतसँगै नेपालमा पनि उतिक्कै प्रतिक्षा भइरहेको छ । 
 
फिल्मप्रति दर्शकको चासोलाई मध्यनजर गर्दै नेपालका अधिकांश मल्टिप्लेक्सहरुले मंगलबारबाटै बुकिङ खुल्ला गरेका छन् । बुकिङ खुल्ला भएसँगै दर्शकले आफ्नो सिट रिजर्भ गर्न थालिसकेका छन् । फिल्मको टिकट आक्रामक रुपमा 'सेल्स' भइरहेको छ । बुधबार साँझसम्म मल्टिप्लेक्समा फिल्मको टिकट अभाव हुने संकेत देखिएको छ । 
 
 
गोपीकृष्णले ३ करोडमा नेपाल भित्राएको उक्त फिल्मलाई सर्वाधिक सेयर प्राप्त हुने मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले राजधानीका आफ्ना पाँच हल छाँया, लबिम, सिभिल, कुमारी र जय नेपालमा कूल २८ सोज बाँडेको छ । यस्तै, राजधानी बाहिरको बग्गेश्वरी, जलमा, सिनेप्लेस र वान स्टप मलमा कूल १९ सोज दिएको छ । 
 
क्यूएफएक्सले एउटा फिल्मलाई कूल ४८ सोज छुट्याएको यो पहिलो पटक हो । छाँया, लबिम र सिभिलमा फिल्मले पाएको अधिकांश सोज लगभग सोल्डआउट हुने अवस्थामा छन् । बाँकी हलमा पनि फिल्मको टिकट तिव्र गतिमा बिक्री भइरहेको छ । बलिउड फिल्मको नेपाल क्रेज यसबाट पनि छर्लङ्ग हुन्छ । 
 
१६० हलमा एकसाथ प्रदर्शन हुन लागेको ‘ठग्स अफ हिन्दोस्तान’ ले राजधानीका बाँकी मल्टिप्लेक्सहरुमा पनि उच्च सोज पाएको छ । क्यूजमा ९ सोज पाएको फिल्मलाई एफक्यूबले ९ सोज, विएसआरले ६ सोज, बिग मुभिजले १० सोज र सिडिसीले ९ सोज बाँडेको छ । राजधानी बाहिर सञ्चालनमा रहेको अन्य मल्टिप्लेक्समा पनि फिल्मको सोच उच्च छ । 
 
गएको पाँच वर्षपछि आमिरको फिल्म दीपावलीमा रिलिज हुन लागेको हो । लामो छुट्टीका कारण फिल्मको कमाई भारतमा ठूलो हुने भारतीय मिडियाहरुको अनुमान छ । फिल्म ट्रेड एक्सपर्ट कोमल नहाटाका अनुसार, ओपनिङ डेमा 'ठग्स' को कलेक्सन ५० करोडमाथि हुनेछ । भारतमा उक्त फिल्म ५ हजार स्क्रिनमा रिलिज हुँदैछ । 
 
यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । फिल्मको निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । उक्त फिल्म तीन भाषामा रिलिज हुनेछ । हिन्दीसँगै फिल्मलाई तमिल र तेलुगूमा पनि डब गरिएको छ । फिल्ममा अमिताभ बच्चन (खुदाबक्श), आमिर खान (फिरंगी), फातिमा सना शेख (जफीर), कटरीना कैफ (सुरैया)  र लायड (जोन क्लाइव) को भूमिकामा छन् । 
Most Visited News (monthly)