(1)(1).jpg)
अचेल दर्शकलाई हलसम्म तान्न सजिलो छैन । प्रायः दर्शक त ३ महिनापछि फिल्म युट्युबमा आइहाल्छ नी भन्दै हल नै पुग्दैनन् । हुनपनि, केही महिनामै युट्युबमा आउने फिल्म हेर्न महँगो टिकट काटेर हलसम्म किन जाने ? निर्माताले पैसा कमाउने लोभले डिजिटल राइट्स बेच्दा त्यसको असर विस्तारै हलको व्यापारमा पर्न थालेको छ ।
'छक्का पञ्जा ३', 'इन्टु मिन्टु लण्डनमा' लगायतका केही फिल्म युट्युब रिलिज नगर्ने अडान लिएर निर्माता बसेका छन् । यसले युट्युबमा फिल्म कुरेर बसेका दर्शकलाई हलसम्म तान्न बाध्य गराउँछ । गत वर्ष रिलिज भएको फिल्म 'धनपति' पनि युट्युब रिलिज नगर्ने निर्माता तथा निर्देशक दीपेन्द्र के. खनालले उद्घोष गरेका थिए ।
तर, उनी आफ्नै अडानमा टिक्न सकेनन् । अन्ततः उक्त फिल्म युट्युबमा आएको छ । 'पैसा देख्दा महादेवको तीन नेत्र' भन्ने त उखानै छ । उनले महँगो मुल्यमा डिजिटल राइट्स बिक्री गरेको खबर छ । फिल्मले भने घरेलु बजारमा खासै सुखद प्रदर्शन गर्न सकेको थिएन । खगेन्द्र लामिछाने र सुरक्षा पन्त फिल्ममा प्रमुख भूमिकामा छन् ।
दर्शकलाई हलसम्म तान्न युट्युब रिलिज नगर्ने बाहना बनाउने तर पैसाको लोभमा डिजिटल राइट्स बिक्री गर्ने प्रवृतिकै कारण दर्शकले मेकर्सको भनाईप्रति विश्वास गर्न छाडेका छन् । युट्युब रिलिज नगर्ने बताइएको 'धनपति' युट्युबमा आउनुले हल पुगेर नेपाली फिल्म हेर्नैपर्छ भन्ने दर्शकको जागरलाई निरुत्साहित गरेको छ ।
युट्युबमा रुचाइयो 'धनपति'
अचेल हलमा फ्लप भएका फिल्म युट्युबमा सुपरहिट हुन्छन् । 'धनपति' यही लिस्टमा पर्छ । हलमा जबरजस्त कलेक्सन गर्न नसकेपनि युट्युबमा दर्शकको साथ राम्रो पाएको छ । फिल्मलाई युट्युब रिलिजको दुई दिनमा ९ लाख बढीले हेरिसकेका छन् । १४ हजार लाइक्स रहेको फिल्मलाई २ हजार बढीले कमेन्ट लेखेका छन् ।
युट्युबमा फिलमलाई राम्रा कमेन्टको बाढी छ । अधिकांशले कलाकार र कथावस्तुको प्रशंसा गरेका छन् । झुर लेखिएका कमेन्ट पनि केही छन् । राजकुमार थारुलाई भने पैसा जलाएको दृश्य मन परेनछ । उनी लेख्छन्, 'पैसा जलाएर नेगेटिभ देखाएको किन ? केटी मान्छेले काम गरेको नेगेटिभ देखाएको किन ?'
फिल्म हेर्नुहोस् :-

