
मंसिर २८ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘सुश्री सम्पत्ति’ को दोस्रो गीत इन्टरनेट रिलिज भएको छ । दिपावलीको उपहार स्वरुप निर्माण टिमले मंगलबार एक कार्यक्रमका बीच अभिनेत्री प्रियंका कार्की फिचर्ड गीत 'झुम्की हराए...' सार्वजनिक गरेको हो ।
सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा मिना निरौला र राजन इशानको स्वर छ । अभिनेता त्रय सलोन बस्नेत, विनोद न्यौपाने र प्रमोद अग्रहरी पनि गीतको भिडियोमा प्रस्तुत छन् । गीतमार्फत प्रियंका आफ्नो झुम्का हराए तिराउने बताउँदैछिन् ।
सञ्चारकर्मी सुव्रत आचार्य निर्देशित उक्त फिल्मको 'हुकुम बक्सियोस्...' गीत हिट भइसकेको छ । दोस्रो गीतले पनि सफलता नाप्ने निर्माण टिमको विश्वास छ । फिल्ममा अभिनेत्री प्रियंकाको गेस्ट रोल छ । अभिनेत्री सारा सिर्पाली लिड रोलमा छिन् ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । अर्जुन तिवारीले सिंगो फिल्म खिचेका हुन् ।
गीत हेर्नुहोस् :-

