अहिले फिल्म बनाएर मात्र काफी छैन । गतिलो प्रचार भएन भने हलमा दर्शकको खडेरी लाग्छ । यसैले त निर्माता/निर्देशक फिल्मको प्रचारमा अनेकौं फण्डा अपनाउने गर्दछन् । माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमलीला’ ले पनि नयाँ शैलीबाट प्रचार सुरु गरेको छ ।
दर्शकको फिल्मतर्फ ध्यान खिच्न निर्माण टिमले 'तक्लु ब्युटी कन्टेस्ट' को आयोजना गरेको छ । कपाल मुन्डन गर्दाको अनुभव सबैसँग साट्न 'तक्लु ब्युटी कन्टेस्ट' को आयोजना गरिएको निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्काले बताइन् ।

उनले उक्त फिल्मका लागि आफ्नो लोभलाग्दो कपाल मुन्डन गरेकी छन् । प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज ‘प्रेमलीला’ मा लाइक्स गरि आफ्नो कन्ट्याक्ट डिटेल्ससहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ ।
प्राप्त फोटो मध्येबाट उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइने अभिनेत्री खड्काले बताइन् । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई पचास हजार, दोस्रो हुनेलाई पच्चिस हजार र तेस्रो हुनेलाई नगद दश हजार प्रदान गरिनेछ ।
खड्काकै कथा रहेको फिल्मले नेपालीकी एक युवती र भारतका एक युवकबीचको प्रेमकथा भन्छ । फिल्ममा खड्कासँगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ ।
फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । छायांकन पवन गौतमले गरेका हुन् । सुरज तमु, रेखा शाह, शर्मिला शर्मालगायतको पनि फिल्ममा अभिनय छ ।

