कात्तिक ३० गते दर्शक भेट्न तमतयार छ फिल्म ‘गुनगुन’ । दुई दशक लामो अभिनय यात्राको अनुभवलाई लाइसेन्स मान्दै पुकार भट्टराईले पहिलो पटक यो फिल्म निर्देशन गरेका छन् । यसअघि उनले केही टेलिसिरियल निर्देशन गरेका थिए । अभिनयलाई निरन्तरता दिए पनि उनी फिल्म निर्देशनमा आउन ढिलाई भएकोमा भने पश्चताप महशुस गर्छन् ।
'फिल्म निर्देशनमा आउन ढिलाई भएकै हो । ‘गुनगुन’ ४/५ वर्ष अगाडि नै लिएर पर्थ्यो भन्ने महशुस हुन्छ । तर फिल्मको कथा सय वर्षसम्म पुरानो नहुने खालको छ । यसकारण निर्देशनमा आउन ढिलाई भएकोमा खासै दु:खी छैन', पत्रकारसँग गफिँदै उनले भने । उनी अब अभिनयसँगै निर्देशनलाई पनि साथै लैजाने सोचमा छन् ।

(निर्देशक तथा कलाकार पुकार भट्टराई)
पहिलो निर्देशित फिल्म कमजोर नबनाएको उनको दाबी छ । 'केही कमी-कमजोरी त छन् होला तर एउटा उत्कृष्ट फिल्म बनाउन कुनै कसुर बाँकी रहेको छैन' उनी भन्छन्, 'फिल्मले प्रेम सिकाउँछ । जिम्मेवार बन्न सिकाउँछ । ‘गुनगुन’ एउटा पूर्ण प्याकेजको फिल्म हो ।' उनले फिल्मको टाइटल क्यारेक्टरमा अभिनेत्री संचित लुईँटेल रहेको बताए ।
उनी फिल्ममा अभिनय गर्ने सबै कलाकारको भूमिका एकसेएक रहेको बताउँछन् । एक विवाहित महिलाले श्रीमान र प्रेमीलाई प्रेम गर्दा आइपर्ने आरोह-अवरोहको कथा फिल्मले वाचन गरेको छ । पहिलो पटक निर्देशनमा हात हाल्दा नयाँ अनुभवको साक्षी हुन पाएकोमा निर्देशक भट्टराई दंग देखिन्छन् । उनी आफैंले फिल्मको कथा लेखेका हुन् ।
फिल्मका प्रमुख पात्रमध्ये उनी पनि एक हुन् । उनले संचिताको श्रीमानको भूमिका निभाएका छन् । फिल्मलाई लभस्टोरी फेमिली ड्रामा बताउने निर्माता समेत रहेका निर्देशक भट्टराई थप्छन्, 'एउटा विवाहित महिलाले प्रेम भन्ने कुरालाई कतिसम्म बुझ्नु पर्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ ।' उनी फिल्मको टाइटल क्यारेक्टरमा रहेकी संचिता प्रचारमा नहिँड्दा भने दुःखी छन् ।
संचिताको बचाउ गर्दै निर्देशक भट्टराई भन्छन्, 'उहाँ काम विशेषले प्रचारमा हिँड्न नपाउनु भएको हो । उहाँ हिँड्न पाउनुभएको भए अझ राम्रो हुने थियो । सायद उहाँलाई प्रचारभन्दा महत्वपूर्ण आफ्नो काम भएको पनि हुनसक्छ । तर, हामी सधैं उहाँलाई प्रचारमा मिस गर्छौं ।' संचिताको भूमिका हरेक महिलाले गर्व गर्न लायक रहेको उनको ठोकुवा छ ।
अभिनेता सुवास मेचे भने ३ वर्षपछि फिल्ममा कमब्याक गर्दा डर र उत्साह दुबै रहेको सुनाउँछन् । एक्सन अवतारमा रुचाएका उनी फिल्म 'किल्ला' पछि पर्दामा फर्किएका हुन् । 'बडे (पुकार भट्टराई) ले ‘गुनगुन’ टाइटलमा फिल्म बनाउँदै छु, गर्नु पर्छ है भनेपछि मैले कथा नै नसुनि हुन्छ भनेको थिएँ । मलाई टाइटलले नै आनन्दित तुल्याएको थियो । किनभने, म मेरी छोरीलाई मायाले गुनगुन भनेर बोलाउँछु', उनले भने ।
उनले फिल्म गर्न चुनौतीपूर्ण रहेको अनुभव साट्छन् । भन्छन्, 'फिल्ममा मैले दोहोरो भूमिका खेलेको छु । पहिला सियो बनेर पस्ने र पछि फाली बनेर निस्कने खालको भूमिका छ । पहिला हिरो लागेपनि पछि भिलेन लाग्न सक्छ । पूरै भिलेन भन्दा पनि हिरो प्रकारको नेगेटिभ रोल छ ।' उनी आफ्नो करिअरका लागि ‘गुनगुन’ सफल हुनै पर्ने दबाव रहेको बताउँछन् ।
.jpg)
(अभिनेत्री संचिता लुईटेल र अभिनेता सुवास मेचे)
उनलाई तनाव चाहिँ के छ भने उक्त फिल्मसँग उनकै प्रमुख भूमिका रहेको फिल्म 'अनुग्रह' पनि भिड्दैछ । 'मलाई 'अनुग्रह', 'गुनगुन' सँग एकसाथ रिलिज हुँदैछ भन्ने दुई दिन अगाडि मात्र थाहा पाएको हुँ । केही छैन दर्शकलाई जुन मनपर्छ त्यही हेर्नुहुन्छ । झन् स्वाद फरक चाख्न पाउनुहुन्छ', उनी डररहित सुनिन्छन् ।
फिल्ममा रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनालीलगायतको पनि अभिनय छ । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।
ट्रेलर हेर्नुहोस् :-

