अचेल एउटा ट्रेन्ड नेपालका अधिकांश कलाकारले फलो गरेका छन् । आफू अभिनीत फिल्म रिलिज भए, हलमा गएर दर्शकसँग साक्षात्कार गर्ने र सेल्फी खिच्ने । प्रायः स्टार कलाकार हलमा पुगेर दर्शकको भीडमा रमाउन चाहन्छन् । अनमोल केसीदेखि प्रदीप खड्कासम्मले यो ट्रेन्ड पछ्याइसकेका छन् । विशेषगरि शनिबार दर्शकको चाप रहने हुँदा कलाकारहरु हल पुग्ने गर्दछन् ।
पर्दाका कलाकार आँखै अगाडि देख्दा भीड त स्वत: लागिहाल्छ । त्यही भीडको फोटो सामाजिक सञ्जालमा राखेर देशैभर फिल्म हाउसफुल भएको डंका फुक्न उता निर्माता/निर्देशकलाई पनि सजिलो । चाहे दर्शक अरु फिल्मका नै किन नहुन् । मध्यमवर्गिय दर्शकको चाप रहने राजधानीका गोपी, अष्ट, गुण, गंगालगायतका हलमा एक फिल्म मात्र रिलिज भएका हुँदैनन् । र, मल्टिप्लेक्समा पनि ।
तर, यहाँ कलाकारलाई स्वघोषित स्टार बन्नु छ । निर्माता/निर्देशकलाई आफैंले आफैंलाई बधाई दिनु छ । एउटा चलेको कलाकार हलमा पुग्दा दर्शकको भीड थेगिनसक्नु हुनु स्वभाविक हो, किनकी निकै कम दर्शकले पर्दामा देखेको कलाकारलाई प्रत्यक्ष देख्न पाएका हुन्छन् । कति डाइहार्ट फ्यान हुन्छन् त कोही अरु फिल्म हेर्न आएका दर्शक हुन्छन् ।
चारैतिर सेल्फी खिच्नेको भीड देखेपछि कलाकारले आफूलाई 'सुपरस्टार' महशुस गर्न थाल्छन् । मिडियामा चौतर्फी क्रेजको चर्चा हुन्छ । नामको अगाडि 'स्टार' र 'सुपरस्टार' को ट्याग झुन्डिन थाल्छ । क्राउड देखेपछि निर्माता/निर्देशक फिल्ममा लिन पछाडि दौडिन थाल्छन् । हलमा दर्शकको भीडमा उभिएको एउटा तश्बिरले कलाकारलाई सडकदेखि महलसम्म पुराउँछ । यस्ता उदाहरणको यहाँ कमी छैन ।
 (2)(2).jpg)
छिमेकी देश भारतकै कुरा गर्ने हो भने कुनै स्टार्स हल-हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको एउटा घटना छैन । यसले कलाकारको भ्यालु कम हुन्छ भनिन्छ । प्रत्यक्ष हलमा भेटेको र सेल्फी खिचेको स्टारको फिल्म हेर्न हल किन जाने ? दर्शकमा यो सोच जन्मियो भने के हुन्छ ? दर्शकसँग घुलमिल हुनु अपराध होइन तर दुरी बनाइएन भने 'आजको स्टार भोली गुमनाम' नहोला भन्न सकिन्न ।
हलमा गएर दर्शक भेट्ने अभियानकी प्रमुख अभियन्ता हुन् अभिनेत्री रेखा थापा । 'रामप्यारी' भन्दा अगाडि उनी आफ्ना हरेक फिल्म रिलिज हुँदा दर्शक भेट्न हल पुगिहाल्थिन् । 'रुद्रप्रिया' बाट भने उनले चटक्कै छाडिन् । आखिर किन ? हाल 'मालिका' को सुखद प्रदर्शनबाट उत्साहित देखिएकी उनी भन्छिन्, 'यो नौटंकी हो ।' हलमा गएर दशवटा फिल्म हेरेका दर्शक आफ्नो दाबी गर्ने प्रवृति गलत रहेको उनको तर्क छ ।
'अरु फिल्म हेरेर आएका दर्शक पनि मेरै हुन् भनेर झुट बोल्नु राम्रो होइन' उनी भन्छिन्, 'फिल्म चलेको बेला दर्शकलाई कूल छाडिदिनु पर्छ । दिमाग भंग गर्ने काम गर्नुहुन्न । कलाकार भेटेपछि दर्शक कथाभित्रै छिर्न सक्दैनन् । किनकी, उसमा बाहिर देखेको कलाकारकै ह्याङओभर भइरहेको हुन्छ । त्यसपछि फिल्मभन्दा पनि कलाकारकै ह्याङ बढी हुन्छ ।'
उनको विचार आफैंमा सोचनीय छ । यसमा बहस हुन आवश्यक देखिन्छ । तर, हलमा जानु नौटंकी बताउने उनी स्वयं शनिबार कुमारी हलमा 'मालिका' हेरेर फर्किएका दर्शकसँग सेल्फीमा रमाइन् । उक्त दृश्यले उनी स्वयंलाई गिज्याइरहेको थियो । रेखाज्यू, कतै आफूले गरे महान काम अरुले गरे नौटंकी त लागेको होइन ?

