Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संगीतकारलाई ५० हजार उपहार, गीतकारलाई पाँच प्रतिशतको सान्त्वना

फिल्मीखबर, काठमाण्डौ, 2018/11/02
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘चङ्गा चेट’ को हिट गीत 'गोजीमा दाम छैन' लाई युट्युबमा डेढ करोड पटक हेरिएको भन्दै निर्माण टिमले मंगलवार केक काटेर खुसीयाली साट्यो । रिलिज अगावै गीतले करोड भ्यूज कमाउने यो फिल्म यस वर्षको दोस्रो हो । पहिलो नम्बरमा 'छक्का पञ्जा ३' को 'पहिलो नम्बरमा' गीत छ । 
 
फिल्म रिलिज अगावै गीतले करोड दर्शक कमाएको खुसीमा निर्माता माधव वाग्लेले संगीतकार तथा गायक राजनराज सिवाकोटीलाई उपहार स्वरुप ५० हजार दिए । गीतले करोड भ्यूज कमाए संगीतकार सिवाकोटीलाई उपहार दिने वचन दिएका रहेछन् वाग्लेले । सो वचन उनले केक काट्दै गर्दा पूरा गरे । 
 
 
गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । गीत राम्रो हुनुमा गायन र संगीतसँगै महत्वपूर्ण हात शब्दको पनि हुन्छ । तर, निर्माता वाग्लेले ५० हजारको चेक संगीतकारलाई मात्र भन्दै मिडियाको सामु चेक हस्तान्तरण गरे । उक्त सेलिब्रेसनमा गीतकार तिमल्सिना पनि थिए । गीतकारलाई चाहिँ किन हेला ? कार्यक्रमा पत्रकारले प्रश्न गरे । 
 
वाग्लेले आफूले संगीतकारलाई दिने वचन दिएको बताए । संगीतकार सिवाकोटीले मिडियाकै सामु घोषणा गरे, 'यो उपहारको ५ प्रतिशत गीतकारलाई दिन्छु ।' ५० हजारको ५ प्रतिशत रकम पच्चीस सय हुन्छ । तर, प्राप्त उपहार रकमको सरकारलाई २५ प्रतिशत ट्याक्स बुझाउनु पर्छ । अब ट्याक्स तिरेर संगीतकारलाई ३७ हजार ५ सय हातमा आउँछ । 
 
उक्त रकमको ५ प्रतिशत १८ सय ७५ रुपैयाँ हुन्छ । गीतको मेरुदण्ड हो रचना । गीत उत्कृष्ट बन्नमा शब्दको ठूलो हात रहन्छ । सजिलै जिब्रोमा झुन्डिने शब्दहरु गीतकार तिमल्सिनाले कोरेका छन् । हुन त पुरस्कार शब्द नै आँफैमा सम्मानित हुन्छ तर, यहाँ गीतकारले पुरस्कार पाएका थिएनन् । उनले त संगीतकारबाट सान्त्वना मात्र पाएका थिए । 
 
एउटै गीत जुन हिट भएपछि खुशीयाली मनाउँदै केक काटिएको त्यहिँ संगीतकारले पुरस्कार पाउँदा गीतकारले भने सान्त्वना मात्र प्राप्त गर्नुले गीतका शब्दको अवमुल्यन गरेको केहि संगीतकर्मीहरु बताउँछन् । 
 
चर्चित गीतकार डा. कृष्णहरी बराल भन्छन्, 'एउटा गीत राम्रो हुनुमा सबै पक्ष बलियो हुनुपर्छ । म संगीतकार सिवाकोटीलाई गलत मान्दिनँ । निर्माताले संगीतकारलाई दिएपछि गीतकार, गायक, एरेञ्जरलाई पनि दिनु पर्थ्यो । निर्माताले चाहिँ दिल ठूलो बनाउन नसक्नु भएको हो ।' अर्का गीतकार सबिन एकतारेको तर्क भने फरक छ ।
 
संगीतकारले प्रतिशत निर्धारण गर्न नहुने उनको भनाई छ । 'मुल्य ठूलो कुरा होइन तर प्रतिशत निर्धारण गर्नु चाहिँ गलत हो । के गीतमा गीतकारको योगदान ५ प्रतिशत मात्र हुन्छ ? गीत राम्रो बन्नमा संगीतकार, गीतकार, गायक-गायिका, एरेञ्जर सबैको महत्वपूर्ण भूमिका हुन्छ । र, उपहारमा पनि सबैको बराबरी हक हुन्छ', उनले भने ।
 
'गोजीमा दाम छैन' का संगीतकार सिवाकोटीले गीतकारको सम्मानका लागि आफूले पाएको बोनसबाट ५ प्रतिशत थपेको बताए । 'निर्माता माधव वाग्लेले गीतले युट्युबमा करोडमाथि भ्यूज कमाए ५० हजार थपिदिन्छु भन्नुभएको थियो । उक्त रकमबाट मैले सम्मान स्वरुप ५ प्रतिशत गीतकारलाई दिएको हुँ । त्यो उहाँको पारिश्रमिक होइन', उनले भने । 
 
 
संगीतकार सिवाकोटी र गीतकार तिमल्सिना 
 
उनी यो कुरालाई विवादको रुपमा नलिई खुसी मनाउनु पर्ने बताउँछन् । 'मैले पाएको बोनसबाट पनि गीतकारलाई ५ प्रतिशत दिनु भनेको पाप हो ? त्यो पैसा होइन एउटा सम्मान मात्र हो' उनी थप्छन्, 'मैले गीतकारलाई ५ प्रतिशत मात्र दिएको होइन नी त, यो त मैले मेरोबाट दिएको हुँ । के त्यसबाट गीतकारको इज्जत बढेन र ?' 
 
गीतकार तिमल्सिना भने संगीतकारले आफूलाई सम्मान स्वरुप ५ प्रतिशत दिएकोमा खुसी व्यक्त गर्छन् । उनी भन्छन्, 'संगीतकारलाई निर्माताले गीत तयार हुँदै गर्दा उपहार दिने वचन दिनुभएको थियो । त्यो मलाई पनि थाहा थियो । मैले त आफ्नो पारिश्रमिक पाइसकेको थिएँ । र, बोनसको आश पनि थिएनँ । संगीतकारले पाउनुभएको बोनसबाट पनि मलाई ५ प्रतिशत छुट्याउनु भयो त्यो गीतकारप्रति सम्मान हो ।' 
 
दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’ मा समावेश हिट गीत 'गोजीमा दाम छैन' मा संगीतकार सिवाकोटीलाई मेलिना राई र ग्रिष्मा सिवाकोटीले गायनमा साथ दिएका छन् । गीतमा संगीत सिवाकोटी स्वयमको छ । 
Most Visited News (monthly)