Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मल्टिप्लेक्सहरुमा ‘चङ्गा चेट’ लाई न्यून सोज, ‘मालिका’ को हरिविजोग

फिल्मीखबर, काठमाण्डौ, 2018/10/31
हास्यकलाकार सिताराम कट्टेलको जन्मदिनमा केदार घिमिरे (माग्ने बुढा) ले भनेका थिए, 'फिल्म बनाउन गाह्रो । बनाएपछि चलाउन गाह्रो ।' हरेक नेपाली निर्माताको यथार्थ पीडा हो यो । अचेल फिल्म बनाउन भन्दा चलाउन महाभारतको लडाइँ लड्नु पर्छ । 
 
सोलो रिलिज पाउन मुश्किल छ । दुईभन्दा बढी फिल्मसँग भिडन्त गर्नुको विकल्प छैन । वितरकसँग हल संख्यामा लडाइँ एकातिर । अनि, प्रतिशतमा अर्को वार्गेनिङ । यत्रो युद्ध लडेपनि ग्यारेन्टी छैन, फिल्मले लगानी उठाउन पनि सक्छ वा सक्दैन ? 
 
'नेपाली फिल्ममा लगानी, बालुवामा पानी' यसै भनिएको होइन । यस शुक्रवार रिलिज हुने दुई प्रतिक्षीत फिल्म ‘चङ्गा चेट’ र ‘मालिका’ लाई हल संख्या बढाउन यतिबेला कम सकस छैन । अझ मल्टिप्लेक्समा । टिकट मुल्य बढी हुनाले निर्माताहरु आफ्नो फिल्म मल्टिप्लेक्समै बढी चलाउन चाहन्छन् । 
 
शुक्रवार प्रदर्शनमा आउने दुई फिल्मको कुरा गर्ने हो भने मल्टिप्लेक्सहरुमा दुबैको उपस्थिति नाक खुम्च्याउने स्थितिको छ । निर्माताले सर्वाधिक शेयर हात पार्ने देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले बुधवार दिउँसोसम्म ‘चङ्गा चेट’ लाई जलमा, बाग्गेश्वरी र सिनेप्लेसबाहेक राजधानीका चार हलमा प्रदर्शनको पहिलो दिन ७ सोज र दोस्रो दिन ५ सोज दिएको छ । 
 
 
रेखा थापाको ‘मालिका’ को उपस्थिति त झन् हरिविजोग छ । फिल्मलाई पहिलो र दोस्रो दिनका लागि एक/एक सोज मात्र छ । यो फिल्मको सोज संख्या हेर्दा ‘चङ्गा चेट’ लाई चित्तबुझाउने ठाउँ छ ।  तर, सन्तुष्ट हुन भने छैन । हुन त, रेखाका फिल्म मल्टिप्लेक्समा नभई सिंगलमा बढी चल्ने गरेका उदाहरण छन् । 
 
एडभान्स बुकिङमा 'छक्का पञ्जा ३' लाई ३० सोजभन्दा बढी दिएको क्यूएफएक्सले ‘चङ्गा चेट’ र  ‘मालिका’ लाई प्रदान गरेको सोज संख्या न्यूनतम हो । जबकि, उक्त मल्टिप्लेक्सले आफ्नो देशभरको च्यानलमा एक फिल्मलाई ४० भन्दा बढी सोज दिन सक्छ । बलिउड र हलिउड फिल्मले पनि मल्टिप्लेक्सहरुमा उच्च सोज हात पार्ने गरेका छन् । 
 
क्यूएफएक्सबाहेक राजधानीका अन्य मल्टिप्लेक्स एफक्यूबमा ‘चङ्गा चेट’ ले ३ सोज हात पार्दा ‘मालिका’ एक सोजमै खुम्चिएको छ । बाँकी मल्टिप्लेक्स हलले भने यो समाचार तयार पार्दासम्म सोज संख्या बाँडफाँड गरिसकेका छन् । मल्टिप्लेक्समा दुई फिल्मको सोज पट्यारलाग्दो हुनुको पछाडि 'छक्का पञ्जा ३' र 'जय भोले' कारक तत्व हो ।
 
दुई फिल्म बक्सअफिसमा कमजोर नहुनु नै शुक्रवार रिलिज हुने दुई फिल्मको सोज संख्यामा कमी हुनुको कारण हो । विना प्रचारको नेपाली फिल्म ‘बियोन्ड द क्लाउड्स’ पनि शुक्रवार रिलिज हुँदैछ । हलिउड फिल्म त छँदै छ ।  ‘बोहिम्यान र्‍याप्सोडी’ र ‘द नट्क्रेकर एन्ड द फोर रियाम्स’ फ्राईडे रिलिज फिल्म हुन् । 
 
प्रदर्शनरत बलिउड फिल्म 'बधाई हो', 'बाजार' सँगै हलिउड दुई फिल्म 'क्रेजी रिच एशियन' र 'भेनम' को गति पनि कम भएको छैन । प्रदर्शनरत दुई नेपाली, दुई बलिउड र दुई हलिउड फिल्मका कारण ‘चङ्गा चेट’ र ‘मालिका’ ले मल्टिप्लेक्समा न्यून सोज पाएका हुन् । सिंगल पर्दा भने दुबै फिल्मको बराबर रहेको खबर प्राप्त छ । 
Most Visited News (monthly)