'लगान', 'रंग दे बसन्ती', 'पीके', 'दंगल' र 'ठग्स अफ हिन्दोस्तान' जस्ता फिल्ममा अलग-अलग अवतारमा देखिएका अभिनेता आमिर खानले नयाँ गर्न नपाए डर लाग्ने बताएका छन् । टाटा स्काई एक्टिङ अड्डामा 'आमिरको पाठशाला' मा आमिरले आफ्नोे सफलता, निर्माताको रुपमा आफ्नो जिम्मेवारी र अन्य विषयमा कुरा गरेका छन् ।
उनले भने, 'म असफल भएँ भनेर डर लाग्दैन । मैले केही नयाँ ट्राई गरिनँ भने चाहिँ डर लाग्छ । जब कुनै कहानी दर्शकलाई मनपर्छ तब महशुस गर्छु कि मैले केही हासिल गरेँ ।' निकै कम उमेरदेखि नै आमिर आफ्नो पिता तथा निर्देशक ताहिर हुसैनबाट प्रभावित थिए ।

उनले पितासँग सोध्ने गर्थे, 'तपाई एक लाइनमा कसरी कहानीलाई बताउनुहुन्छ ? तपाईको कहानीको आधार के हो ?' योे सवालले फिल्मको पटकथा चयनमा आमिरको जीवनमा आधार स्थापित गर्यो । उनले फिल्ममा पारिश्रमिकको रुपमा एक रुपैयाँ लिने नगरेको बताए ।
'यो ख्याल गर्नु मेरो जिम्मेवारी हो कि फिल्मको लागत उठ्यो वा उठेन । पूरा टिमलाई भुक्तानी गरेपछि मात्र म फिल्मको मुनाफाको मेरो हिस्सा लिन्छु', उनले भने । आमिर अचेल आफ्नो फिल्म 'ठग्स अफ हिन्दोस्तान' लाई लिएर चर्चामा छन् । यो फिल्ममा आमिरसँगै अमिताभ बच्चन पनि छन् । 'बिग बी' यो फिल्ममा 'बख्तावर' को भूमिकामा देखिनेछन् ।
फिल्ममा कैटरीना कैफ, फातिमा सना शेख पनि छन् । 'ठग्स अफ हिन्दोस्तान' फिल्म फिलिप मीडोज टेलरले १८३९ मा लेखेको उपन्यास 'कन्फेसन्स अफ ए ठग' मा आधारित छ । यसमा एक यस्तो ठगको कथा छ, जसको ग्याङ १९औं शताब्दीको सुरुआतमा ब्रिटिश भारतमा अंग्रेजहरुका लागि खास व्यक्ति थिए ।

