२६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म 'ज्वाला' मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतमा अभिनेता सरोज खनाल र अभिनेत्री कृष्टि मैनालीले कम्मर मर्काएका थिए । अझै पनि यो गीत उत्तिकै बजिरहेको सुन्न पाइन्छ । अब उक्त गीतको रिमेक भर्सन फिल्म 'दि ब्रेकअप' मा समावेश गरिएको छ ।
.jpg)
नेपालीहरुको दोश्रो महान चाड मानिने तिहार पर्व नजिकिँदै गर्दा निर्माण टिमले पहिलो कोशेली स्वरुप सो गीत सार्वजनिक गरेको छ । 'न्यू भर्सन' मा यो गीतमा स्वर विराज गौतम र मेलिना राईको छ । 'ओर्जिनल भर्सन' मा बुद्धवीर लामाको शब्द, शिला बहादुर मोक्तानको संगीत, आशा भोस्ले र उदितनारायण झाले स्वर दिएका थिए ।
गीतको भिडियोमा अभिनेता खनाल संयोगबस यो पटक पनि आफ्नै स्टेपमा देखिएका छन् । कृष्टिको भने अभाव खड्किन्छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा 'दि ब्रेकअप' का मुख्य कलाकारहरु खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर्ड छन् ।
निर्माण टिमले गीतलाई स्तरिय बनाउन सेटअपदेखि कलाकारको पहिरनमा कुनै कसुर बाँकी राखेको छैन । हेमराज बिसीको निर्देशनमा बनेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।
नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीको नै हो । पौष २७ गते रिलिज हुने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । यसअघि निर्देशक हेमराजले आशिरमानलाई लिएर 'ग्याङ्गस्टर ब्लूज' बनाएका थिए, जुन बक्सअफिसमा सफल भएन । दोस्रो सहकार्य कति फलिफाप होला ? प्रतिक्षा गरौं ।
गीत हेर्नुहोस् :-

