एक्सन स्टार विराज भट्ट अब आफ्नो परिचय फराकिलो बनाउँदैछन् । नेपाली र भोजपुरी फिल्मको मार्केटमा अभिनेताको रुपमा स्थापित उनी अब फिल्म निर्माण र निर्देशनमा डेब्यु गर्दैछन् । हुन त, एक भोजपुरी फिल्मको गीत गाउँदै उनले गायकको परिचय पनि थपेका थिए ।
हाल अभिनेता भट्ट नेपालमा छन् । गएको दुई वर्ष अगाडि उनले रोज राणा निर्देशित फिल्म 'जय परशुराम' बाट नेपाली फिल्ममा कमब्याक गरेका थिए । त्यसअघि उनको व्यस्तता भोजपुरी फिल्ममा बढी थियो । नेपाली फिल्मलाई पनि निरन्तरता दिने उद्घोष गरेपनि त्यो बोेलीमै सीमित देखिएको थियो ।

गएको वर्ष उनले आफ्नै लगानीमा फिल्म 'हर्के राजा' बनाउने सामाजिक सञ्जालमार्फत् घोषणा गरेपनि त्यो निर्माण हुन सकेन । अब उनी आफ्नै निर्माण र निर्देशनमा नयाँ फिल्म बनाउन कसिएका छन् । फिल्मको नाम ‘साङ्लो’ जुराइएको छ । हालै उनले फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् ।
नायिकाको खोजीमा रहेका विराज स्वयमको फिल्ममा प्रमुख भूमिका रहने फिल्मीखबरलाई स्रोतले जानकारी दिएको छ । अभिनेत्री द्वय साम्राज्ञी आरएल शाह र प्रियंका कार्कीसँग फिल्मको विषयमा अहिले कुरा भइरहेको खबर छ । केही अगाडि मात्र फिल्मको एक गीत रेकर्ड गराइएको थियो ।
गीतमा सुरेश अधिकारीको संगीतमा निशान भट्टराईले स्वर भरेका छन् । उनलाई अञ्जु पन्तले गायनमा साथ दिएकी छन् । मंसिरपछि छायांकन सुरु हुने एक्सन-लभस्टोरी फिल्मका लागि अहिले विराज कलाकार छनौटमा व्यस्त छन् । अब यो फिल्म उनका फ्यानका लागि बहुमुल्य उपहारभन्दा कम हुने छैन ।

