कात्तिक १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चङ्गा चेट’ मा गिनेचुनेका टन्नै कलाकारहरु छन् । आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणा, रबिन्द्र झालगायतका कलाकारहरु फिल्ममा छन् । आयुष्मानले पूर्व र वर्तमान प्रेमिकासँग काम गरेका कारण पनि यो फिल्म निर्माण अगावैदेखि चर्चामा थियो ।
चलेका अनुहार भएपछि दर्शकमा फिल्मप्रति चासो बढ्ने नै भयो । अझ, 'गोजीमा दाम छैन' र कमेडीले भरिएको ट्रेलरले उक्त फिल्मको राम्रो हाइप निर्माण गरेको छ । रिलिज पूर्ण नै फिल्मले बक्सअफिसमा सुखद नतिजा ल्याउने अनुमान फिल्मी पण्डितहरुको छ ।
तर, फिल्मको प्रचार निकै कमजोर छ । कलाकारहरुको फिल्ममा भीड भएपनि प्रचारमा कसैले अनुहार देखाएका छैनन् । ट्रेलर तथा गीत रिलिज कार्यक्रम बाहेक कलाकारलाई मिडियामा देखिएको छैन । पछिल्लो समय फिल्मको इनिसियल व्यापारमा मिडिया प्रचार महत्वपूर्ण मानिन्छ ।
फिल्म राम्रो हुँदाहुँदै पनि कमजोर प्रचारले बक्सअफिसमा निराशाजनक व्यापार गरेका यहाँ प्रसस्तै उदाहरणहरु छन् । दर्शक नै फिल्मको बारे अनविज्ञ भए हलसम्म कसरी पुग्छन् ? ‘चङ्गा चेट’ निर्माण टिम र कलाकारले बुझ्न आवश्यक छ । हुन त, प्रचारमा हिँड्न कलाकार फुर्सद पनि त हुनु पर्यो ।
प्रियंका र आयुष्मान फिल्म 'प्रेम दिवस' को छायांकनमा व्यस्त छन् । सन्दिपलाई टीभि शो र कन्सर्टमै भ्याइनभ्याइ छ । रबिन्द्र 'ए मेरो हजुर ३' मा व्यस्त छन् । सुरक्षा र परमिताको व्यस्तता केमा छ ? त्यो त उनीहरुलाई नै थाहा होला । निर्देशक/निर्माता प्रचारमा हिँडेर खासै उपलब्धि पनि हुन्न । अनि, कलाकारलाई मतलब नै छैन । परेन त फसाद !
प्रत्येक फिल्ममा ‘एक्सपेरिमेन्ट’ गर्न माहिर दीपेन्द्र के खनाल फिल्मका निर्देशक हुन् । 'पशुपतिप्रसाद' पश्चात् चर्चामा आएका उनको गएको वर्ष 'धनपति' रिलिज भएको थियो । ‘चङ्गा चेट’ लाई 'लुट' निर्माता माधव वाग्ले र 'लभ लभ लभ' निर्मात्री शर्मिला पाण्डेले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

