Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

कति सम्भव : दीपक-दीपासँग अनमोलको सहकार्य ?

मनिष अन्जान, काठमाण्डौ, 2018/10/28
हास्यटेलिसियल हुँदै फिल्म निर्माणमा होमिएका दीपकराज गिरी र दीपाश्री निरौलाको टिम शक्तिशाली बन्दै गएको छ । '६ एकान ६' हुँदै हाल प्रदर्शनरत फिल्म 'छक्का पञ्जा ३' सम्म आइपुग्दा दीपक-दीपा क्याम्पका कुनै फिल्म फ्लप छैनन् । सबै फिल्मले कलेक्सनमा रेकर्ड बनाएका छन् । 
 
यो टिमसँग जोडिने जो कोहीको चाहना हुन्छ । अझ बढी कलाकारलाई । यतिबेला उक्त टिमसँग अहिलेका 'हटकेक' अनमोल केसी जोडिने सम्भावना रहेको चर्चा सुरु भएको छ । यस विषयमा अचेल दुई पक्षबीच छलफल चलिरहेको खबर छ । तीन वर्षदेखि लगातार 'छक्का पञ्जा' को सिरिज बनाउँदै आएका दीपक-दीपा अब नयाँ नाममा फिल्म बनाउँदैछन् । 
 
 
उक्त फिल्मको स्क्रिप्टको खाका समेत तयार भइसकेको छ । नेपाली सञ्चारमाध्यमका अनुसार, सो फिल्ममा अनमोलसँग टिमअप हुने सम्भावना बढ्दो छ । यसको चाँजोपाँजो वितरक तथा निर्माता मनोज राठीले मिलाएका हुन् । उनले अनमोलको नयाँ प्रोजेक्ट 'क्याप्टेन' वितरण गर्दैछन् । 'छक्का पञ्जा ३' उनले नै वितरण गरेका हुन् ।  
 
कमेडी फिल्म निर्माणमा स्थापित टिमसँग अनमोललाई जोड्न वितरक राठीले भित्री रुपमा प्रयासको पुल बान्दै लगेका छन् । उनले अनमोल र दीपकराजसँग छलफल समेत गरिसकेका छन् भने दुबै टिमअप गर्न सकारात्मक देखिएका छन् । यो कुरा अनमोलका पिता भुवन केसी र दीपकराज स्वयमले स्विकार गरेका छन् । 
 
वितरक राठी भने दुई पक्षसँग कुरा भएपनि फाइनल भने नभएको बताउँछन् । 'कुरा मात्र भएको हो । यस विषयमा अहिले कुरा नगर्दा नै राम्रो हुन्छ । स्क्रिप्ट राम्रो आयो र दुई पक्षलाई मन पर्‍यो भने टिमअप हुनसक्छ', उनले भने । स्रोतका अनुसार, फिल्ममा अनमोल र दीपकराजको भूमिका बराबर भए मात्र सहकार्य हुनसक्ने सम्भावना छ । 
 
दीपक-दीपकले निर्माण गर्ने फिल्म र अनमोल केसी आबद्ध भएका हरेक फिल्म दर्शकमाझ व्यग्र प्रतिक्षामा रहने गर्दछ । एक शक्तिशाली टिम र एक ठूला स्टारबीच टिमअप भए यसले घरेलु बजारमा उथलपुथल ल्याउने पक्का छ । अब दुई पक्षबीचको छलफलले सहकार्यको रुप लेला वा हल्लामै सीमित होला ? सबैका लागि चासो र कौतुहलताको विषय बनेको छ । 
Most Visited News (monthly)