निडर र हक्की स्वभावका फिल्म मेकर हुन् अशोक शर्मा । उनी सफल निर्माता/निर्देशक मात्र होइनन्, डिसिएन जस्तो प्रख्यात फिल्म वितरण संस्थाका मालिका समेत हुन् । तर, उनी अहिले पछुताएका छन् । कारण जान्न चाहनुहुन्छ ? अरु केही होइन 'छक्का पञ्जा ३' सँग आफ्नो फिल्म सँगै रिलिज गर्न नपाएर ।
हाल उनी निर्मित तथा निर्देशित फिल्म 'जय भोले' दोस्रो सातामा प्रदर्शन भइरहेको छ । प्रदर्शनको पहिलो हप्तामा ३ करोडमाथि कमाएको फिल्मको व्यापारमा घटस्थापनामा रिलिज भएको 'छक्का पञ्जा ३' ठूलो बाधक बनेको छ । यसअघि दुई फिल्म एकै मितिमा भिड्ने चर्चा थियो ।
 (2)(1).jpg)
निर्देशक शर्माले 'छक्का पञ्जा' ब्रान्डसँग भिड्नकै लागि फिल्म बनाएको समेत खबर बाहिरिएको थियो । 'छक्का पञ्जा ३' सँग भिड्न उनले आफ्नो फिल्मको रिलिज डेट लामै समय आलटाल गरेर राखेका थिए । तर, अन्तिम समयमा आपसी समझदारीमा ‘जय भोले’ को रिलिज मिति ‘छक्का पञ्जा’ भन्दा पर सारियो ।
निर्माता दीपकराज गिरीले पब्लिसिटीका लागि निर्देशक शर्मालाई १० लाख दिएपछि ‘जय भोले’ को रिलिज एक हप्ता पछाडि सरेको सिनेवृतमा चर्चा छ । यसमा कति सत्यता छ यो त दुई मेकर्स नै जान्दछन् तर अहिले निर्देशक शर्मा फिल्मको रिलिज पछाडि सार्नु गलत निर्णय रहेको भन्दै पछुताइरहेका छन् ।
फिल्मको एक हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने क्रममा उनले आफूलाई ग्लानि महशुस भएको बताए । 'एकैदिन रिलिज गरेको भए राम्रो हुने रहेछ । राम्रो फिडब्याक आएपछि मात्र 'छक्का पञ्जा ३' चलेको हो । नत्र त सुनसान नै थियो । सँगै रिलिज गरेको भए 'जय भोले' को सुरुवाती व्यापार झन् राम्रो हुने थियो', उनले भने ।
उनको यो भनाईबाट स्पष्ट हुन्छ कि 'छक्का पञ्जा ३' सँग भिड्नु उनका लागि फलामको चिउरा चपाउनुभन्दा कम भएको छैन । तर, अब पछुताएर पनि हुनेवाला केही छैन, जे हुनु भइसक्यो । उनी 'छक्का पञ्जा' जस्तो ब्रान्डसँग रिलिज गर्दा पनि फिल्मले गरेको व्यापारबाट सन्तुष्ट रहेको बताएका छन् । हुन त, अब चित्त बुझाउने बाटो नै अरु के छ र ?

