.jpg)
प्रायः हरेक हप्ताको शुक्रवार नेपाली हलमा दुई वा तीन फिल्मको भिडन्त हुँदै आएको छ । कुनै हप्ता चार फिल्म रिलिज भएका उदाहरणहरु पनि छन् । तर, यस हप्ताको शुक्रवार भने नयाँ नेपाली फिल्म रिलिज भएनन् । कारण, प्रदर्शनरत दुई ठूला फिल्म हुन् ।
तेस्रो हप्तामा 'छक्का पञ्जा ३' र दोस्रो हप्तामा 'जय भोले' ले प्रदर्शन सुरु गरेका कारण चेपुवामा पर्ने डरले अन्य फिल्म रिलिज नभएका हुन् । अब यस हप्ता पनि हलमा दुई फिल्मकै राज चल्नेछ । प्रदर्शनको दुई हप्तामा 'छक्का पञ्जा ३' ले साढे १३ करोडमाथि कमाइसकेको छ भने 'जय भोले' ले एक हप्तामा ३ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ ।
दुबै फिल्मले मल्टिप्लेक्समा उच्च सोज पाएका छन् । बुकिङ भने 'जय भोले' भन्दा 'छक्का पञ्जा' को राम्रो छ । दोस्रो हप्तामा 'जय भोले' ले देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्स च्यानलमा २० सोज पाएको छ भने 'छक्का पञ्जा' ब्रान्डलाई २४ सोज दिइएको छ । सिंगल स्कृन पनि 'छक्का पञ्जा' कै बढी छ ।
'छक्का पञ्जा ३' ले तीन हप्ता र दुई हप्ता 'जय भोले' ले हलमा आफ्नो वर्चश्व जमाएपनि अर्को हप्ता भने दुई प्रतिक्षीत फिल्म रिलिज हुँदैछन् । मल्टिस्टारर फिल्म 'चङ्गा चेट' र रेखा थापाको 'मालिका' प्रदर्शनमा आउँदैछ । दुई फिल्मलाई दशैंका दुई फिल्म चुनौती बन्छन् वा बन्दैनन् ? हेर्न बाँकी छ ।

