केही वर्ष अगाडिसम्म नेपाली फिल्मले अक्सर सोलो रिलिजको अवसर पाइरहेका हुन्थे । तर, अब यो विस्तारै लोप हुँदै गएको छ । हरेक बर्ष सयको आसपासमा फिल्म रिलिज हुने हुँदा मल्टिस्टारर तथा ठूला ब्यानरका फिल्मले मात्र मुश्किलले सोलो रिलिजको मौका पाउँछन् । नभए त अधिकांश फिल्म दुई वा तीन फिल्मसँग भिड्नै पर्ने बाध्यता छ ।
एकभन्दा बढी फिल्म रिलिज हुँदा हल संख्या विभाजित मात्र हुँदैन दर्शक पनि बाँडिन्छन् । यसकारण अहिले अधिकांश निर्माता/निर्देशक फिल्म निर्माण अगावै रिलिज डेट घोषणा गर्दै आइरहेका छन् । फिल्म निर्माण अगावै प्रदर्शन मिति तय गर्दा सोलो रिलिज पाइने उनीहरुको सोचाई छ ।
.jpg)
ठूला नेपाली फिल्महरु विशेष गरि महान पर्वको छेकोमा रिलिज हुँदै आएका छन् । ताजा उदाहरण 'छक्का पञ्जा ३' र 'जय भोले' लाई लिन सकिन्छ । अब अर्को वर्षको दशैंको बिदामा तीन फिल्म भिड्दैछन् । दशैंमा आउने गरि फ्लोरमा निस्कनु अगावै तीन फिल्मको प्रदर्शन मिति दशैंलाई तय गरिएको छ ।
प्रकाश सुवेदीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘बकम्फुसे राजा’ र रेनशा वान्तवा राईले निर्देशन गर्ने फिल्म ‘आई एम ट्वान्टी वान’ ले अर्को बर्षको दशैंलाई रिलिज घोषणा गरिसकेका छन् । अब यी दुई फिल्मसँग निर्देशक तथा निर्माता अशोक शर्माको नयाँ फिल्म 'रातो टिका निधारमा' पनि जुध्ने भएको छ ।
हाल प्रदर्शनरत फिल्म 'जय भोले' को सक्सेस सेलिब्रेट गरिरहेका निर्देशक शर्माले नयाँ फिल्म दशैंमा रिलिज गर्ने घोषणा गरेका छन् । तीन फिल्म दशैंमा आउने पक्का भएपनि प्रदर्शन मिति भने तोकिएको छैन । घटस्थापनाबाट दशैं सुरु हुने हुँदा यही बीचमा तीन फिल्म रिलिज हुनेछन् ।

