नेपाली फिल्म क्षेत्रमा एकपटक जे चल्यो त्यसैलाई दिव्य मन्त्र मानेर नक्कल गर्ने वा सिक्वेल फिल्म बनाउने गजबको होड चलेको छ । बक्सअफिसमा राम्रो पैसा बटुल्न सफल फिल्महरुको मात्र सिक्वेल बन्ने गर्छ तर दर्शकहरुले सिक्वेलबाट भने फरक स्वाद अहिलेसम्म पाउन सकेका छैनन् ।
पहिलो भागकै धङधङी फिल्मको सिक्वेलमा देखिएको कारण पनि दर्शकहरुले खासै फरक कथावस्तु भेट्न पाउँदैनन् । कतिले चर्चाका लागि पनि सिक्वेल तयार गर्ने गरेका छन् । नेपाली फिल्मका सिक्वेलहरुले सफलता हासिल नगरेका होइनन् त्यसैले त एक फिल्मको सिक्वेल हिट भएपछि अर्का निर्माता पनि सिक्वेलको लहरमा जुट्ने गर्छन् ।
नेपालमा अहिले सबैभन्दा बढी सिक्वेलमा बनेको फिल्म हो 'नाइँ नभन्नू ल' । यो चलचित्रको पाँच भागसम्म बनिसकेको छ भने पाँचै भागले नेपाली बक्सअफिसमा सुनाउन लायक अंक जोड्न सफल भएको छ । 'नाइँ नभन्नू ल' का सिक्वेलहरु लगातार हिट भएपछि त्यसैलाई पछ्याउँदै अहिले धेरै निर्माताहरु सिक्वेलको पछाडी दौडिरहेका छन् ।

सिक्वेल निर्माण हुनुको कारण अघिल्लो फिल्मको ब्रान्ड भ्यालुका कारण प्रमोशन खर्च कम लाग्छ । सिक्वेलप्रति दर्शक तुलनात्मक रुपमा लचक हुन्छन् । त्यसैले सुरुवाती व्यापार उत्कृष्ट हुने सम्भावना धेरै रहन्छ । देखिएको पनि त्यस्तै छ ।
सिक्वेलको नाम दिएर जसरी पछिल्लो समय दर्शकलाई 'मुर्गा' बनाउने काम भइरहेको छ, त्यसले गर्दा पनि सिक्वेलमाथि अहिले विश्वसनियतामा प्रश्न उठ्न सुरु भइरहेको छ । एउटै कथावस्तु तर ब्रान्ड भ्यालुका कारण फिल्म चलाउन खोज्नु निर्माताहरुले दर्शक ठग्नु हो । सिक्वेल आफैंमा नराम्रो होड भने होइन ।
हलिउड र बलिउडमा पनि सिक्वेल निर्माण गरेर निर्माताहरुले राम्रै आम्दानी गरिरहेका छन् । हलिउडमा 'फास्ट एन फ्युरिस', 'ट्रान्सफर्मस', 'पारेट्स अफ द क्यारेवियन', 'स्पाइडर म्यान' र बलीउडमा 'दबंग', 'सिंघम', 'गोलमाल', 'हाउसफुल', 'क्रिस', 'आशिकी', 'धुम' का सिरिजले धुम मच्चाइरहेका छन् । तर नेपालमा निकै कम सिक्वेलले मात्र दर्शकको अपेक्षा पूरा गरेका छन् ।

सिक्वेल भनिएका कति फिल्मको कथावस्तु दर्शकहरुले नै बुझ्न सक्दैनन्, जसले सिक्वेल बन्नुको अर्थ नै राख्दैनन् । पहिलो फिल्मको लोकप्रियताले जसरी सिक्वेलहरु निर्माण हुन्छन्, त्यसमा कथा पनि दमदार रहन आवश्यक छ । हुनत, हिट भैसकेका फिल्मको सिक्वेल बनाउँदा दर्शकले पनि सम्झने भएकाले निर्माताले यस्तो कदम चालेका हुनसक्छन् ।
फेरि, दर्शकको मुखमा झुण्डिसकेको फिल्मको सिक्वेल बनाउँदा सानो हल्लाले पनि काम गर्ने उनीहरुको वुझाई छ । सिक्वेल निर्माण अहिले निर्माताका लागि सजिलो बाटो बनिरहेको छ ।
हलीउड र बलीउड हुँदै भित्रिएको सिक्वेलको ट्रेन्डले अहिले नेपाली फिल्म क्षेत्र पनि अछुतो रहन सकेको छैन । 'नाईँ नभन्नू ल', 'कुसुमे रुमाल', 'हिरो', 'दर्पण छायाँ', 'सायद', 'होस्टेल', 'प्रेमगीत', 'लुट', 'किस्मत', 'ए मेरो हजुर', 'कबड्डी', 'चपली हाईट' लगायतका फिल्मका सिक्वेलहरु निर्माण भइरहनुले पनि त्यसलाई स्पष्ट पार्छ कि नेपाली फिल्म क्षेत्रमा पनि सिक्वेलले अब बलियो पकड बनाइसकेको छ ।

जसरी अहिले सिक्वेल बनाउने ट्रेन्ड नेपाली फिल्म क्षेत्रमा भित्रिएको छ त्यसरी नै निर्माणपक्षले दर्शकहरुको मन जित्न पनि अब आvश्यक छ । सिक्वेलमा एउटै कथाले वाक्कदिक्क भएका दर्शकहरुलाई फरक स्वाद दिन सकेमात्र सिक्वेलको सार्थकता देखिन्छ ।

