आफ्ना हरेक फिल्ममार्फत् महिला सशक्तिकरणको मुद्धा उठाइरहेकी अभिनेत्री रेखा थापा यस बर्षको दशैं जन्मथलो मोरङमा मनाउँदैछिन् । कात्तिक १६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘मालिका’ को प्रचारमा व्यस्त रेखा दशैंले खुसी र मनमोहक बोकेर आउने बताउँछिन् ।
'वर्षभरीको दुःख-पीडा भुलेर केही दिन निर्धक्क रमाउने चाड पनि हो दशैं । ठूलाबडाको हातमा आर्शिवाद थाप्नेदेखि सबै आफन्तसँग भेट हुन्छ', उनी बाल्यकालको दशैं सम्झँदै अगाडि भन्छिन्, 'पहिला दक्षिणा भनेपछि टिका लगाउने वितिक्कै खाम खोलेर हेथेँ । अहिले यसको मतलब लाग्दैन ।'
उनले दशैंमा टिका लगाउन जाँदा मामाबाट १ हजार दक्षिणा पाएको विर्सिएकी छैनन् । 'म कान्छी छोरी । सबैभन्दा कम दक्षिणा मलाई नै हुनु पर्थ्यो तर मलाई धेरै दक्षिणा भएको खाम परेछ', उनी हाँस्दै भन्छिन् । रेखा आफूले चाहेको सबै कुरा दशैंमा ठूलाबडाबाट पाएको आर्शिवादबाट पूरा भएको बताउँछिन् ।
उनले हरेक दशैंमा देशका लागि माता नवदुर्गासँग शान्ति र समृद्धि माग्दै आएको बताइन् । उनले दशैंमा दुर्गा र तिहारमा लक्ष्मीको पुजा गरिएपनि छोरीहरुको अवस्था दयनिय रहेको सुनाउँछिन् । छोरीहरुलाई उपभोक्ताको रुपमा हेरिने गरिएको उनको भनाई छ ।
.jpg)
'राजनीतिमा पनि यो विभेद छ । यिनीहरु चुनाव लड्न सक्दैनन् । यिनीहरुलाई समानुपातिक हाल्दियौं अनि ३३ प्रतिशत कोटाको कुरा गरिन्छ', उनी अगाडि थप्छिन्, 'हामीमा पनि लडाईँ गरेर आउन सक्ने क्षमता छ । तर यहाँ छोरी मान्छेलाई सुनिन्छ र हेरिन्छ मात्र । र, यो हेरिने काम बन्द गरिनु पर्छ ।'
उनी फिल्म 'मालिका' को चर्चा गर्न पनि चुक्दिनन् । हरेक आमा, बुबा, छोरी, बुहारीको मनोविज्ञान र उनीहरुले भोग्नु पर्ने घटनाको कथा फिल्मले वाचन गर्ने रेखाले बताइन् । 'फिल्मले फ्यूचर देखाउँछ विगत देखाउँदैन', उनले भनिन् ।
रेखाले मालिका माता दुर्गाको अर्को नाम रहेको बताइन् । 'मैले माताको नाममा फिल्म बनाएको छु उनी भन्छिन्, 'यर्सथ, मैले मातासँग छोरीहरुका लागि बरदान मागिरहनु पर्छ जस्तो लाग्दैन ।' फिल्म 'मालिका' मा रेखा र कमला वली प्रमुख भूमिकामा छन् ।

