फिल्म क्षेत्रमा प्रवेश गर्ने सबैको भाग्य चम्किन्छ भन्ने छैन । डेब्यु फिल्मबाट रातारात स्टार भएकादेखि दर्जन बढी फिल्म गर्दापनि सिन्को भाँच्न नसकेका कलाकारहरु यहाँ कम छैनन् । अचेल हरेक नयाँ फिल्मबाट नयाँ अनुहारको आगमन तिव्र गतिमा भइरहेको छ ।
गएको दुई वर्ष अगाडि रिलिज भएको फिल्म 'चपली हाईट २' बाट नेपाली फिल्म क्षेत्रले परमिता आरएल राणालाई अभिनेत्रीको रुपमा पाएको थियो । सुपरहिट फिल्मको दोस्रो सिरिजमा काम गर्न पाउनु उनका लागि ठूलै कुरा थियो । तर, फिल्म चलेन ।
कतिपय फिल्म बक्सअफिसमा हिट साबित नभएपनि अभिनेता/अभिनेत्रीको अभिनयको खुबै प्रशंसा हुने गर्दछ । तर, परमिताको हकमा यो पनि भएन । बरु अभिनेता आयुष्मान देशराज जोशीसँगको अफेयरले मिडियामा विशेष स्थान पायो भने फिल्ममा दिएको विकिनी सिनले चर्चा दिलायो ।
.jpg)
डेब्यु फिल्म रिलिजको झन्डै दुई वर्षसम्म उनी पर्दामा देखिइनन् । हालै उनी अभिनीत फिल्म 'रोज' रिलिज भएको थियो । फिल्ममा गिनेचुनेका अभिनेता प्रदीप खड्का थिए । टाइटल क्यारेक्टरमा उनी स्वयम थिइन् । तर, फेरि पनि परिणाम ‘हातमा लाग्यो शून्य’ झैँ भयो । न उनको अभिनयको नै 'वाहवाही' भयो ।
फिल्ममा उनीमाथि अभिनेत्री मिरुना मगर हाबी भइन् । लगातार दुई फिल्मको निराशाजनक नतिजाले परमिताको करिअर अब सकसपूर्ण बनिरहेको छ । उनी अझै आफूलाई अभिनेत्रीको रुपमा चिनाउन संघर्षरत छिन् । अभिनयमा निखारता ल्याउन नसकेको आरोप पनि खेपिरहेकी उनको नयाँ फिल्म 'चंगा चेट' कात्तिक १६ गते रिलिज हुँदैछ ।
पूर्वप्रेमी आयुष्मानसँगै उक्त फिल्ममा प्रियंका कार्की, सुरक्षा पन्त, सन्दिप क्षेत्री, रबिन्द्र झालगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मको 'गोजीमा दाम छैन' बोलको गीतमाथि युट्युबमा करोड बढीको नजर परिसकेको छ । गीतले निर्माण गरेको हाइपले फिल्म बक्सअफिसमा सफल हुनेमा निर्माण टिम विश्वस्त छ ।
अभिनेत्री परमिताका लागि त फिल्म 'चंगा चेट' ले घरेलु बजारबाट सुनाउन लायक कलेक्सन अंक जोड्न अत्यन्त आवश्यक छ । नभए उनले फ्लप फिल्ममा ह्याट्रिक मार्नेछिन् । योसँगै उनले अभिनय गरेको चौथौं फिल्म 'दि कर्मा' मंसिर ७ मा रिलिज हुँदैछ । रिलिजको तरखरमा रहेका बाँकी दुई फिल्मले नै परमिताको आगामी भविष्यको निर्धारण गर्नेमा दुईमत छैन ।

