Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साथीको कथा ‘जय भोले’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/15
देश दशैंमय बनिरहेको छ । धमाधम राजधानीबाट गाँउ-घर जानेहरुको सवारी साधनमा सर्वाधिक चाप देखिन थालेको छ । सर्वसाधारणदेखि बिशिष्ट व्यक्तिसम्मलाई दशैंको रौनकले छोएको छ । वर्षदिनको दुःख भुलेर रमाउने चाडको रुपमा पनि यो पर्वलाई दिने गरिन्छ । अधिकांशलाई दशैंमा घर जाने चटारो भइरहँदा उता फिल्म ‘जय भोले’ लाई भने हल पस्ने हतारो छ । 
 
बुधबारबाट प्रदर्शनमा आएको फिल्म 'छक्का पञ्जा ३' को वर्चश्वबीच यो फिल्म मंगलबार अर्थात् फूलपातीबाट देशैभर प्रदर्शनमा आउँदैछ । सो फिल्मलाई भेट्रान निर्देशक अशोक शर्माले निर्देशन गरेका हुन् । उनी बाह्र वर्षपछि यही फिल्ममार्फत् निर्देशनमा फर्किएका हुन् । यसकारण पनि उक्त फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । 
 
रिलिज मुखैमा रहँदा निर्देशकदेखि कलाकारसम्मलाई प्रचार-प्रसारमा राम्रै दौडधुप छ । आफ्ना यसअघिका फिल्मको प्रचारमा अनुहार देखाउन गाह्रो मान्ने खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङले ‘जय भोले’ का लागि भने प्रसस्तै समय छुट्याएका छन् । यसको अर्थ उनीहरुलाई फिल्मप्रति अपेक्षा धेरै छ । 
 
भर्सटायल अभिनेताको छवि बनाएका खगेन्द्र स्वयमले ‘जय भोले’ को कथा लेखेका हुन् । प्रमुख भूमिकामा पनि उनी नै छन् । उनलाई दर्शकले आफ्नो फरक भूमिकालाई स्वीकार गर्लान् वा नगर्लान् भन्ने चिन्ताले खुब सताएको छ । 'म भोलेको क्यारेक्टरमा छु । मैले आजसम्म कुनै पनि फिल्ममा यस्तो भूमिका गरेको थिइनँ । यो मेरो लागि अवसर र चुनौती दुबै हो', उनी भन्छन् । 
 
उनलाई भोलेको भूमिका गर्न निर्देशक शर्माले मनाएका रहेछन् । बलिउड सुपरस्टार अमिताभ बच्चनले 'पिंक', 'ब्ल्याक', 'जंजीर' जस्ता फिल्ममा गरेका फरक-फरक भूमिकाको उदाहरण दिएपछि फिल्ममा भोले बन्न तयार भएको खगेन्द्र सुनाउँछन् । उनका अनुसार, फिल्मले युवा साथीबीचको भावनात्मक मित्रता र प्रेम भन्छ । फिल्ममा कलाकारको लवज पूर्वेली छ ।
 
 
अभिनेता लामिछाने फिल्ममा सिच्वेसनल कमेडी रहेको बताउँछन् । 'कमेडी गर्नका नभई स्टोरीसँग लिंक भएर आएको छ, जुन मानिसलाई स्वभाविक लाग्छ र मनोरञ्जन दिनेछ ।' ६ वटा नाटकको लेखन तथा निर्देशन समेत गरिसकेका उनी नाटक र फिल्मको कथा बुनाई फरक रहेको तर्क राख्छन् । भन्छन्, 'नाटक र फिल्ममा कथा प्रस्तुत गर्ने तरिका विल्कुलै फरक हुन्छ ।'
 
फिल्मकी सोलो अभिनेत्री स्वस्तिमा खड्का रिलिजको संघारमा रहँदा डर र उत्साह दुबै रहेको बताउँछिन् । आफ्नो भूमिका गोप्य राख्दै उनी भन्छिन्, 'फिल्म खुराकयुक्त छ । कमेडी, रोदन, द्वन्द्व, प्रेम सबै भेटिन्छ । ट्रेलरमा हाम्रो लभस्टोरी देखाइएको छ । तर, लभस्टोरीमा पनि अर्को सस्पेन्स छ ।' निखारिएका कलाकारसँग काम गर्न पाउँदा धेरै सिक्न पाएकोमा खुसी लागेको उनले बताइन् । 
 
अभिनेता सौगात भने ‘जय भोले’ लाई आफूले गरेका फिल्मभन्दा फरक भन्न चाहन्छन् । 'मैले जुन भूमिका निभाएको छु, त्यो यसअघि मैले कहिल्यै गरेको थिइनँ', उनी भन्छन्, 'मैले आफ्नो भूमिकालाई न्याय गर्ने प्रयास गरेको छु ।' ट्रेलरमा उनको एक्सन दृश्यलाई प्रसस्तै स्थान दिइएको थियो । उनी पहिला सिकेको एक्सन अहिले काम लागेको बताउँछन् । 
 
सौगातको कुरा नसकिँदै निर्देशक शर्मा उनको तारिफ गर्न थाल्छन् । भन्छन्, 'उसले बढीजसो आर्टिस्टिक अभिनय गर्छ । तर, ऊसँग कमर्शियल फिल्ममा हुने चिजहरु पनि प्रसस्तै रहेछ । उसले डान्स र कमर्शियल फिल्मका हिरोहरुले गर्ने फाइट पनि एकदमै राम्रो गर्छ । ट्रेलरमा नै देखिन्छ त्यो । खगेन्द्रको फाइट डाङडाङ र डुङडुङ छ तर सौगातको प्रोफेसनल देखिन्छ ।' 
 
निर्देशकको तारिफ सुनेपछि सौगात अक्क न बक्क भए । हालै नयाँ फिल्म 'मासु भात' को छायांकन भ्याएका उनी ‘जय भोले’ ले दर्शकलाई भरपूर मनोरञ्जन दिनेमा विश्वस्त छन् । सौगात भन्छन्, 'साथीको कथा हो फिल्म । म सुःख-दुःखको फिल्म भन्न चाहन्छु । फिल्ममा साथीको कुरा झन् बढी आउँछ भन्ने लाग्छ ।' उनले फिल्ममा निभाएको जयजस्तै क्यारेक्टर रियल लाइफमा पनि रहेको बताए । 
 
उता कलाकार बुद्धिले भने फिल्ममा आफू ब्रुसलीको फ्यानको भूमिकामा रहेको बताए । कथा फुत्किनले डरले संयमित हुँदै उनी भन्छन्, 'ब्रुसलीको बेस्सरी फ्यान भएकै कारण यो कथामा साथीहरुसँग जोडिन पुग्छु ।' फिल्म साथीको कथा रहेको बताउँदै उनले एउटा रुखको आफू एउटा हाँगो रहेको बोले । आफ्नो कुरालाई विट मार्दै उनी भन्छन्, 'यसअघिका फिल्ममा भन्दा भूमिका चाहिँ फरक छ ।'
 
फिल्ममा सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । किरन शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको फिल्मको 'उम्लियो भने पोखिन्छ' गीत हिट भइसकेको छ । पुरुषोत्तम प्रधानले फिल्म खिचेका हुन् । ‘जय भोले’ को बजेट १ करोड ६० लाख बताइएको छ ।
Most Visited News (monthly)