नेपाली र्यापर लाउरेले नेपाली फिल्ममा कमब्याक गर्ने फाइनल भएको छ । डेब्यु फिल्म 'ताण्डव' बक्सअफिसमा पत्तासाफ भएपछि उनी आफ्नो पेशामा नै बढी केन्द्रित थिए । अब उनलाई लिएर ‘लाउरेको र्याप’ नाममा फिल्म निर्माण हुने भएको छ ।
.jpg)
पासाङ योन्जन लामाको कथा तथा निर्देशन रहने फिल्ममा हालै लाउरे अनुबन्ध भएका हुन् । फिल्मको मूल कथा उनीमा नै केन्द्रित हुने बताइएको छ । हाल स्क्रिप्टलाई अन्तिम रुप लिने काम भइरहेको निर्देशक लामाले बताए । फिल्म लाउरेको जीवनसँग नजिक भएर निर्माण हुन लागेको खबर छ ।
माघमा औपचारिक घोषणा गरेर फागुनबाट फिल्मको छायांकन सुरु गर्ने निर्माण टिमको तयारी छ । फिल्ममा लाउरेसँगै 'जिन्दगी रक्स' फेम्ड अभिनेता सोनाम पाख्रिन पनि फाइनल भएका छन् । बाँकी कलाकार भने छनौट हुन बाँकी रहेको छ । दावा शेर्पा शेट्टीले फिल्मलाई निर्माण गर्नेछन् ।
कसम नेपालको स्क्रिप्ट र हरी हुमागाईंको छायांकन रहने यही फिल्मबाट पासाङले फिचर फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यसअघि उनले दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् । ‘लाउरेको र्याप’ को काठमाडौं वरपर छायांकन हुनेछ ।

