Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशोक शर्मा भन्छन्, ‘बाह्र वर्षपछि खोलो फर्कियो’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/13
बाह्र वर्षपछि खोला फर्किन्छ वा फर्किदैनन्, थाहा छैन । तर, बाह्र वर्षपछि भेट्रान निर्देशक अशोक शर्माको फिल्म निर्देशनमा कमब्याक भएको छ । पछिल्लो पटक ‘यो मायाको सागर’ निर्देशन गरेका उनको नयाँ फिल्म ‘जय भोले’ दशैंको छेको पारेर फूलपातीदेखि देशैभर प्रदर्शनमा आउँदैछ । फिल्ममा उनकै परिवारको लगानी छ । 
 
२०५९ सालमा फिल्म ‘मितिनी’ निर्माण गरेपछि एकल निर्माताको रुपमा नआएका उनले आफ्नो फिल्म वितरण कम्पनी डिसिएनलाई स्थापित गर्न बाह्र वर्षसम्म फिल्म निर्माण र निर्देशनबाट टाढा रहेको बताएका छन् । 'बाह्र वर्षपछि खोला फर्किन्छ भन्छन् । म पनि बाह्र वर्षपछि फर्किएको छु', पत्रकारसँग गफिँदै उनले भने । 
 
 
उनी ४ वर्ष अगाडि नै निर्देशनमा फर्किने सोचमा थिए । तर, चित्तबुझ्दो कथा नपाएपछि उनले हतार गर्न चाहेनन् । 'जब मैले 'पशुपति प्रसाद' हेरेँ तब मेरो दिमागमा बत्ति बल्यो' उनले भने, 'खगेन्द्र लामिछानेको स्क्रिप्ट र अभिनय उत्कृष्ट लागेको थियो । र, उसैलाई लिएर फिल्म बनाउने इच्छा जाग्यो ।'
 
'पशुपति प्रसाद' का निर्देशक दीपेन्द्र के. खनालसँग सम्पर्क नम्बर मागेर उनले खगेन्द्रसँग भेटका लागि आग्रह गरे । पहिलो भेट मण्डला थिएटरमा नाटक हेरेपछि भएको उनी सम्झन्छन् । 'डिसिएनमा भएको दोस्रो भेटमा मैले उसलाई फिल्म निर्देशनमा फर्किँन लागेको र सँगै काम गर्ने इच्छा रहेको बताएँ । उसले दुईवटा स्क्रिप्ट देखायो । त्यसमध्ये एउटा स्क्रिप्टलाई अगाडि बढाउने निधो गर्‍यौं', उनले भने । 
 
स्क्रिप्ट फाइनल गर्ने क्रममा खगेन्द्रसँग ठूलो डिभेड भएको पनि निर्धक्क बताउँछन् अशोक । 'कथावस्तुलाई दमदार बनाउन लेखक र निर्देशकबीच डिभेड हुनु ठूलो कुरा होइन, यसले स्क्रिप्ट झन् बुलन्द हुन्छ' उनी प्रशंग मोड्दै भन्छन्, 'म कमर्शियल फिल्म बनाउने मान्छे । खगेन्द्र रियालिस्टिक फिल्म गर्दै आइरहेको छ । दुईको कम्बिनेसनले एउटा उत्कृष्ट फिल्म आउन सक्छ भन्ने मेरो सोच थियो ।'
 
फिल्ममा इन्टरटेन्मेन्ट नभए संसारमा कुनै पनि फिल्म नचल्ने तर्क उनको छ । भन्छन्, 'इन्टरटेन्मेन्ट भएन भने मास अडियन्समा फिल्म जानै सक्दैन । यही कारण ठोस विषयवस्तुलाई इन्टरटेनिङ तरिकाले बनायौ भने सबै वर्गका दर्शक बाँधिन सक्छन् भन्ने मैले निर्देशनमा फर्किनुभन्दा अगाडि नै सोचेको थिएँ । यो कुरालाई ध्यानमा राखेर 'जय भोले' बनाएका छौं ।' 
 
निर्देशक शर्माले ट्रेलरमा राखिएको दृश्य फिल्मको दश मिनेट मात्र रहेको बताउँछन् । उनी अगाडि भन्छन्, 'फिल्ममा धेरै गुदी छ । गम्भीर पनि छ फिल्म । हँसाउन पनि सक्दो हँसाउँछ । एउटा पूर्ण फिल्म बनेको छ ।' उनले कमेडी जनराका फिल्मको बोलबाल रहेको अवस्थामा त्यही ट्रेन्डलाई फलो गर्न फिल्म नबनाएको बताए । 
 
 
आफूले निर्देशन गरेका दशक अगाडिका फिल्म सम्झँदै उनी भन्छन्, 'ट्रक डाइभर' देखि 'मितिनी' सम्म हेर्ने हो भने मेरो फिल्ममा कमेडीको एकदमै महत्वपूर्ण पाटो हुन्छ । जोक भनेर म हँसाउन चाहँदिनँ । सिच्वेसनले हाँसुन् भन्ने मेरो कोशिश हुन्छ । कमेडी छुट्टै चाहिँ हुँदैन, त्यो कमेडी सिच्वेसनसँग लिंक हुन्छ र त्यो लिंक कथासँग रिफ्लेक्ट हुन्छ । 'जय भोले' मा पनि त्यो भेटिन्छ ।'
 
पहिला कमेडी गर्नका लागि कमेडियनहरु नै भएपनि 'जय भोले' मा लिड कलाकारहरुले नै हँसाउने उनले बताए । खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का र राजाराम पौडेलको वरिपरि फिल्म घुमेको जानकारी दिँदै निर्देशक शर्मा भन्छन्, 'फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिन्छ । यसको म ग्यारेन्टी दिन्छु ।' अब फिल्म निर्माण र निर्देशनलाई पनि निरन्तरता दिने उनको सोच छ । 
 
तश्बिर : अर्गेलो 
Most Visited News (monthly)