एकै मितिमा फिल्म जुध्ने भएपछि निर्माता-निर्माता र निर्देशक-निर्देशकबीच पानी बाराबारको स्थिति सृजना हुन्छ । एकअर्काको खोइरो खन्दै हिँड्छन् । फेसबुकमा साथी भए अनफ्रेन्ड गरिन्छ । व्यावसायिक द्वन्द्वले राम्रो सम्बन्ध दुश्मनीमा परिणत हुन्छ ।

यो कुरा फागुन १७ गते भिड्न लागेका दुई ठूला मेकर्सबीच नहोला भन्न सकिन्न । यो मितिमा लोभलाग्दो फ्यान फलोइंग भएका अभिनेता अनमोल केसीको ‘क्याप्टेन’ र २ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म 'जात्रा' को सिक्वेल 'जात्रै जात्रा' रिलिज हुँदैछ । दुबै फिल्म उक्त मितिमा प्रदर्शन आउने फाइनल भइसकेको छ ।
दुई बहु- प्रतिक्षीत फिल्म एकै मितिमा जुध्ने भएपछि अहिले सिनेवृतमा तरंग उत्पन्न भएको छ । अधिकांश चलचित्रकर्मी तथा दर्शकले दुईमध्ये एक फिल्मको रिलिज पोस्टपोन्ड हुने बताउँछन् । तर, अहिलेकोे अवस्था हेर्दा दुबै फिल्मका मेकर्स उक्त मिति छाड्ने मनस्थितिमा देखिएका छैनन् ।
महाशिवरात्रीको छेको पारेर 'क्याप्टेन' र 'जात्रै जात्रा' रिलिज हुन लागेका हुन् । बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै 'जात्रै जात्रा' का निर्देशक प्रदीप भट्टराईले दुई फिल्मको भिडन्तलाई ठूलो रुपमा नहेर्न आग्रह गरे । उनी भन्छन्, 'फेस्टिवलमा दुई फिल्म नेपाली बजारले धान्छ ।' उनका अनुसार, फागुन १७ नै फिल्म रिलिज हुनेछ ।

आफ्नो फिल्मसँग जुध्न लागेपनि 'क्याप्टेन' निर्देशक दीवाकर भट्टराईले 'जात्रै जात्रा' निर्देशक भट्टराईलाई शुभकामना दिएका छन् । 'जात्रै जात्रा' निर्देशकले फेसबुकमा शेयर गरेको एक पोस्टमा कमेन्ट गर्दै 'क्याप्टेन' निर्देशकले लेखेका छन्, ‘अल दि भेरी बेस्ट दाई एन्ड जात्रै जात्रा’ ।

