खगेन्द्र लामिछाने दर्शकमाझ नामले भन्दा ‘टुल्के’ र ‘पशुपतिप्रसाद’ चरित्रले बढि चिनिन्छन् । ‘बधशाला‘ बाट डेब्यु गरेपनि उनलाई दर्शकमाझ चिनाउने फिल्म भने ‘टलकजंग भर्सेस टुल्के’ हो ।
रंगमन्चबाट फिल्म लेखन हुँदै अभिनयमा होमिएका खगेन्द्रको लेखन र मुख्य अभिनय नै रहेको अर्को फिल्म ‘डमरुको डण्डीबियो’ यही बैशाख २१ गतेबाट देशैभर प्रदर्शनमा आउँदै छ ।

यसमा उनले डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् । छेतन गुरुङको निर्देशन रहेको यसमा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्दि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको मुख्य भूमिका छ ।
डण्डीबियो नेपालको पूर्व राष्ट्रिय खेल समेत हो । आफ्नो प्रमुख भूमिका रहेका कारण खगेन्द्रका लागि यो फिल्म विशेष छ । फिल्मको विषयमा गरिएको अनुसन्धानदेखि डण्डीबियोकै कथा रोज्नुको कारणको बारेमा उनको अनुभव र भनाई यस्तो छ ।
१. म व्यक्तिगत हिसाबले यस फिल्मबाट किन पनि आशावादी छु भने मेरा यसअघिका फिल्ममा सामाजिक कथा मात्र थिए । अझ भनौं अलि दुखी मान्छेका कथा थिए ।
‘डमरुको डण्डीबियो’ मा स्पोटी व्यक्तिको क्यारेक्टर गर्दा मलाई चुनौती पनि थियो र मज्जा पनि आयो । मैले करीब ५ वर्षपछि केही फरक भूमिका निर्वाहा गर्न पाएको छु ।
२. ‘डमरुको डण्डीबियो’ मा म कसरी भित्रिए र यसमा काम गर्दा कस्ता-कस्ता क्षणहरु भए भनेर लेख्न पनि मन लागेको छ । यो त उपन्यास नै बन्छ होला ।
३. डण्डीबियो नेपालको मौलिक खेल भएका कारण यही कथामा हामीले फिल्म निर्माण गरेका हौं । डण्डीबियो यति रोचक खेल छ कि त्यो फिल्म हेरेपछि पनि थाहा हुन्छ । हामी सबैले आ-आफ्नो ढंगले डण्डीबियो खेलेका छौं । तर, त्यसको नियममा बसेर हामी कमैले डण्डीबियो खेलेका छौं ।
फिल्म हेरेर डण्डीबियो गज्जब हुँदो रहेछ भन्ने लाग्यो भने म त्यो डण्डीबियो टिम बनाउन चाहिँ ओपेन छु ।
४. हिजोका दिनमा 'टलकजंग भर्सेस टुल्के', 'पशुपतिप्रसाद', 'धनपति' जस्ता क्यारेक्टर वेस फिल्म बनाउँदा उतिक्कै जोखिम थियो । ती व्यवसायिक हिसाबले आफ्नो लगानी सुरक्षित गरेर हामीलाई चिया खाने पैसा पनि दिए । ‘डमरुको डण्डीबियो’ मा पनि हाम्रो पूरा विश्वास छ । यो घाटामा जाँदैन ।
५. म निकै कम फिल्म खेल्ने गर्छु । किन कम फिल्म गर्नुहुन्छ भनेर मलाई धेरै प्रश्न पनि गर्नुहुन्छ । मलाई के लाग्छ भने सकेसम्म हाम्रै कथामा बनेको फिल्म होस् । म सधै हाम्रै कथामा बनेको राम्रो स्क्रिप्ट भए फिल्म खेल्छु भन्छु ।

‘डमरुको डण्डीबियो’ को कथा मैले लेखेको भएपनि यसका निर्देशक र निर्माता डण्डीबियोको कथामा कुनै एउटा इन्ट्रेस्टिङ फिल्म बनाउन सकिन्छ कि भनेर मकहाँ आउनुभयो । डण्डीबियोको नाम सुन्ने वितिक्कै नेपालबाट लोप भइसकेको खेल । यो नेपालको मौखिक खेल पनि । मलाई यो विषयले एकदमै तानि हाल्यो ।
टिमसँगको आपसी समझदारीपछि मैले कथा लेख्न सुरु गरेँ । कथा लेख्दै गर्दा रमाइलो पनि भयो । डण्डीबियो फरक-फरक ठाउँमा फरक-फरक नियमपालना गरेर खेलिने खेल पर्यो । तर, फिल्ममा त्यसरी देखाएर त भएन । डण्डीबियोको विषयमा अनुसन्धान गर्दैगर्दा हामीले एउटा 'डण्डीबियो संघ' भन्ने संस्था भेटायौं ।
यही संघको 'थ्रु' दशरथ रंगशाला पछाडि डण्डीबियो खेल्नका लागि बनाइएको मैदान भेटायौं । त्यो खास पार्किङ हो तर डण्डीबियोको टुर्नामेन्ट हुँदा पार्किङ खाली गरिन्छ । केही युवा साथीहरु पनि हुनुहुँदो रहेछ, जो डण्डीबियोको प्रवद्र्धनका लागि दिलोज्यान दिएर विना कुनै स्वार्थ लागीपर्नु भएको छ ।
सरकारले डण्डीबियोको लागि भनेर केही बजेट छुट्याउँदो रहेछ, यो सुन्दा मलाई खुसी पनि लागेको थियो । अनुसन्धान गर्दै जाँदा डण्डीबियो कसरी खेल्ने भन्ने विषयमा तयार भएको प्रिन्टेट नियम पुस्तिका नै रहेछ । हामीलाई निकै खुसी लाग्यो । किनकी हामीलाई डण्डीबियोको नियम केही थाहा थिएन । स्क्रिप्टमा त जसरी डण्डीबियो खेलिन्छ त्यही अनुसार काम गर्नुपर्छ ।
भोली त यो डकुमेन्टेसनको कुरा पनि हो । भोली डण्डीबियोको नियमलाई गलत तरिकाले प्रस्तुत गरियो भने विवादस्पद हुन्छ । त्यसकारण हामीले एकदम ध्यानपूर्वक अनुसन्धान गरेर स्क्रिप्टिङमा राम्रोसँग काम गर्यौं । र, अन्ततः हामीले फिल्मको सुटिङ गर्यौं ।

