मीनबहादुर भामको निर्देशनमा बनेको फिल्म ‘कालो पोथी’ अहिले चर्चित छ। यो फिल्म नहेरे सोसाइटीमै परिन्न कि जस्तो गरेर प्रचार भएको हुनाले मध्यम र उच्च वर्गका लागि स्टायटस सिम्बल बनेको छ यो फिल्मको दर्शक बनेको घोषणा हुनु र राम्रो छ भन्नु।
र त, फिल्म चौथो सातामा पनि मल्टिप्लेक्समा शानदार व्यापार गरिरहेको छ। फरक धारको फिल्म भएर पनि व्यवसायिक सफलता यसले हासिल गरेको छ।
आज क्युएफएक्सको हलमा गएर फिल्म हेरेँ। यत्रो दिनपछि पनि दर्शक उल्लेख संख्यामा थिए। निश्चय पनि फिल्म अलग छ। मौलिक नेपाली फिल्मको नमूना यो बनेको छ। भेनिस र बुसान जस्ता अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सराहना गरिएको यो फिल्मले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारको एउटा ढोका खोलिदिएको छ।
यहाँ फिल्मको राम्रो पक्षमा चर्चा गर्न गइरहेको छैन। त्यसबारे तपाईँले यसअघि नै प्रशस्त सुनिसक्नुभएको होला। यहाँ म केही सिल्ली मिस्टेकको बारेमा चर्चा गर्दैछु जसबारे अलि ध्यान दिएको भए यो अझै राम्रो फिल्म बन्ने थियो।
१) माओवादीको सैनिक दस्ता
माओवादी जनयुद्धको पहिलो शान्तिवार्तापछिको समयलाई आधार मानेर बनाइएको फिचर फिल्म हो कालो पोथी। तर यसको कथावस्तु निकै काल्पनिकजस्ता लाग्छन्, जस्तो कि, काठमाडौंमा शान्तिवार्ता चलिरहेको हुन्छ, मुगुको कार्की बाडामा माओवादी सेना ड्रेसमा मार्चपास गरिरहेका हुन्छन्। कथाकार एवम् निर्देशकले यति कुरा पनि ख्याल गरेनन् कि त्यो बेला माओवादीको जनसेना बनिसकेको थिएन। त्यो बेला अनुहार छापेको छापामार दस्ताको हैसियतमा मात्र थियो माओवादी। जबकि फिल्ममा गमबुट लगाइएको सेना देखाइन्छ । जुन सरासर रियालिटीभन्दा फरक हो।
२) माओवादीको चुनाव चिह्न गमगढीमा
फिल्म सुरु हुँदा सन् २००१ अर्थात् २०५८ सालको मुगु भनेर पर्दामै देखाइन्छ। र पर्दामा गमगढी जाने बाटो देखाइएको बोर्ड देखाइन्छ। तर त्यही बोर्डसँगै एउटा संकेत चिह्न पनि हुन्छ- गोलाकारभित्र हँसिया र हथौडा जुन अहिलेको प्रचण्ड नेतृत्वको माओवादीको चुनाव चिह्न हो। माओवादीले यो चिह्न संविधान सभाको निर्वाचन अर्थात् २०६४ चैत २८ गते हुनुअघि प्रचारका क्रममा उपयोग गरेका थिए। जनयुद्ध भर उनीहरुले यस्तो चिह्न चलाएका थिएनन्। त्यसैले २०५८ सालको मुगुमा त्यस्तो चिह्न हुनै सक्दैन।
३) गाउँगाउँबाट उठ गीत
नेकपा माओवादीले १० वर्षे जनयुद्धमा कालो पोथी फिल्ममा देखाइएजस्तो ‘गाउँ-गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ भन्ने गीत कहिलै प्रयोग गरेनन्। बरु उनीहरुका आफ्नै जनवादी गीत थिए। कर्णालीमा त्यो बेला त्यहाँकै देउडालाई जनवादी बनाएर अभियान चलाइन्थ्यो। जस्तो कि, भेरी–कर्णालीका छाल छुक्दैन सिस्ने हिमाल, लालकिल्ला बन्दैछ भेरी र कर्णाली तिर आदि। तर फिल्ममा त्यो गीत अनावश्यक रुपमा यो गीत प्रयोग गरिएको आभाष हुन्छ। यो गीत गाउँदै गर्दा पछाडि ब्यानरमा नेकपा माओवादी पश्चिमाञ्चल लेखेको देखिन्छ। जबकि माओवादीहरुले कहिले पनि यसरी पश्चिमाञ्चल लेखिएको ब्यानर प्रयोग गरेनन्। उनीहरुको त पश्चिमाञ्चल क्षेत्रीय ब्युरो आदि नाम हुने गर्थ्यो। फेरि मुगुको कार्कीवाडा कसरी पश्चिमाञ्चलमा पर्छ र? मध्यपश्चिम पो हो त।
४) बुद्धिस्टले कुखुरा किन्ने
पोथी बास्यो भने अलच्छिन लाग्छ भनेर प्रकाश (खड्गराज नेपाली)का बुबाले पोथी बेचिदिन्छन्। किन्ने तेन्जिङ (लामा) हुन्छन्। लामाले आफ्नी छोरीलाई सुत्केरीमा खुवाउनका लागि पोथी किनेको तर्क दिन्छन्। यो तर्क बुद्धिष्ट परम्परा अनुसार सरासर बेतुक छ । बुद्धिष्टले सकभर काटमार गर्दैनन्, गरिहाले भने पनि पोथी गर्दैनन्। अझ हिमाली जिल्लाका बुद्धिष्टले मासु लिन तल झरेर काटेको मासु लगी सुकुटी बनाएर खाने चलन हुन्छ।
५) मुगुमा अङ्ग्रेजी भाषाको समाचार
कालो पोथीलाई पूरै स्थानीयकरण गर्ने प्रयास गरिएको छ, जुन निकै प्रशंसनीय लाग्छ। यद्यपि निकै ठाउँमा मुगुका गाउँलेले अंग्रेजी समाचारमा रेडियो सुनेको हेर्न पाइन्छ। विदेशीलाई लक्षित गरेरै सायद अंग्रेजी समाचार राखिएको होला। तर, अरु सबै मुगाली भाषामा बनेर मुन्तिर नेपाली भाषाको सब टाइटल राख्नुपरेको फिल्ममा कालो पोथीका पात्रले एकाएक अंग्रेजी समाचार लगाएको देख्दा अनौठो लाग्छ। फेरि कुनै बेला त नेपाली भाषाको समाचार पनि सुनेको देखिन्छ। बीचमा अङ्ग्रेजी समाचार राख्नु सुहाउँदो देखिएको छैन।
६) एसएलआर र एम १६ हतियार
माओवादीसँग अत्याधुनिक हतियार भएको युद्धविराम भङ्ग भएपछि दाङको सैनिक ब्यारेक आक्रमण गरेपछि हो। यो फिल्मको समग्र कथा युद्धविराम भङ्ग हुनुभन्दा अघिदेखि युद्धविराम भङ्ग हुने बेलासम्मको हो। तर यो फिल्ममा युद्धविराम भङ्ग हुनुअगाडि नै माओवादी सैनिकहरुसँग एसएलआर र एम १६ हतियार रहेको देखाइएको छ।
७) दलित बच्चाको हाइप्रोफाइल सपना
फिल्मको एउटा सशक्त सिम्बोलिक दृश्य मध्यान्तर अगाडि छ। माओवादीसित लागेकी दिदीलाई सम्झँदै फिल्मको दलित बच्चा प्रकाशले मुगुमा निदाएर काठमाडौँको पशुपतिमा सुटिङ गरिएको एउटा हाइप्रोफाइल सपना देख्छन्। जहाँ हतियारसहितका माओवादीहरु, बौद्ध धर्मावलम्बी, इसाई धर्मावलम्बी र मुस्लिम धर्मावलम्बीका गुरुहरु देखिन्छन्। मुगुको एउटा अनकन्टार गाउँमा बस्ने एक दलित बालकले यस्तो हाइप्रोफाइल सपना देख्नु उसको परिवेश अनुसार नसुहाउने भए पनि सिम्बोलिक दृश्यकै रुपमा यसलाई स्वीकार गर्नुपर्ने बाध्ता छ।
८) किस खुवाउनकै लागि बेनिशा हमाल
फिल्ममा एक शिक्षिका छिन् जसको भूमिका काठमाडौँबाट लगिएकी कलाकार बेनिशा हमालले गरेकी छिन्। उनको काम बिहे हुन लागेको मेजर पात्रसँग एक डेढ मिनेटको दृश्यमा किस खानु बाहेक अरु छैन। स्थानीयपन दिइएको यो फिल्ममा केटा र केटीले यौन उन्मत्त भई किसिङ गरेको सिन अस्वभाविक मात्र छैन, नभई नहुने खालको पनि होइन।
९) खस बस्तीको कथामा तिब्बेतियन कुरा
कालो पोथीको कथा मुगुको एउटा खस बस्तीको हो। खस बस्तीमा बुद्धिस्ट तोरणहरु हुन्न। तर फिल्मका दृश्यहरुमा पुल आदि ठाउँहरुमा बुद्धिस्ट तोरणझण्डाहरु मात्र देखिन्न, तिब्बेतियन मन्त्रोच्चारण पनि गरिएको छ।
१०) जनयुद्धको पीडा देखिन्न
फिल्मको पूरै कथा माओवादी जनयुद्धले भोग्नुपरेको पीडाबारे छ। तर फिल्ममा जनयुद्धको पीडा देखाउन सकिएको छैन। केही बच्चाहरु माओवादीले लगेको र भित्तामा जनयुद्धका नारा पोतेको देखिनु बाहेक जनयुद्धले दिएको वास्तविक पीडा फिल्ममा देखिन्न। मुल्या छोराहरु (अर्थ राँडीका छोराहरु) भन्नुपर्ने गरेर गाउँलेहरुले कस्तो पीडा भोगेका थिए, दृश्यमा देखिन्न। दर्शकले फिल पनि गर्दैनन्। यहाँसम्म कि माओवादीले सेनाका मेजरलाई अपहरण गरेको दृश्यसमेत एकदम सहज कुखुरा उठाएर लगे जस्तो गरेर देखाइएको छ।
११) युद्धविरामको समय
फिल्ममा माओवादीले युद्धविराम भङ्ग गरे भन्दै प्रहरी गाउँ पसेर प्रकाश र उसका बुबालाई माओवादी बनेकी दिदीको बारेमा सोध्छन्। प्रकाशले दशैँमा आउँछु भनेर भनेकी छ भन्ने जवाफ दिन्छ। त्यसपछि प्रहरीले दशैँमा लिएर चौकीमा हाजिर हुनु नत्र भनेर धम्क्याउँछन्। यहाँनिर पनि स्क्रिप्टमा थोरै ध्यान दिएको भए यति सिल्ली मिस्टेक हुँदैन थियो। माओवादीले शान्तिवार्ताका लागि गरेको युद्धविराम भङ्ग गरेको २०५८ को मंसिरमा हो। अर्थात् दशैँपछि।
१२) शान्तिवार्ता हुँदै मेजरको अपहरण
१० वर्षे जनयुद्धमा तत्कालीन नेकपा माओवादीले २०५८ साल मंसिर ८ गते आकस्मिकरुपमा तत्कालिन शाही नेपाली सेनाको दाङस्थित ब्यारेकमा हमला गरेपछि मात्र सेनासँग आमनेसामने युद्ध गर्न थालेको हो। त्यसअघि माओवादीले सेनालाई जहिलै मित्रशक्तिको रुपमा वक्तव्य दिइरह्यो। त्यो कुरा उनीहरुले व्यवहारमै पनि लागू गरेका थिए। जस्तो कि, त्यसअघि माओवादीले कुनै पनि गतिविधि सेनाका परिवार, बहालवालासँग कहिलै अपहरण गरेनन्। त्यसैको परिणाम हो, ०५७ सालको दुनै आक्रमणमा कर्णाली पारीको ब्यारेकले सारा सदरमुकाम ध्वस्त हुँदा पनि प्रहरीलाई सहायतासमेत गरेन। त्यसैले त त्यतिबेला दरबारले नै माओवादीलाई सहयोग गरेको आरोप समेत लगाइयो। तर, कालो पोथीमा शान्तिप्रक्रियामै सेनाको मेजरलाई अपहरण गरेको देखाइन्छ, अनि हत्या गरेको पनि देखाइन्छ । त्यो कुरा वस्तुपरक सत्य होइन।
१३) रङ्ग्याउने आइडिया
पोथी खोज्न प्रकाश (खड्काराज नेपाली) र उनका साथी किरण (शुक्रराज रोकाय) भोटे गाउँतिर लाग्छन्। पैसाको अभावमा उनीहरुले पोथी फर्काउन सक्दैनन्। चोरी गरेरै भाग्छन्। र, बाटोमा सेतो पोथीलाई कालो दलेर रंग्याउँछन् । फिल्मको नाम यहीँबाट राखिएको छ। वास्तवमा यस्तै रंग्याउने आइडिया कुनै बेला दशैं नामक सिरियलमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रयोग गरेका थिए। फरक यत्ति छ कि, मह जोडीले सेतो खसीलाई कालो बनाएका थिए, कालो पोथीमा सेतो कुखुरालाई कालो बनाइएको छ।
१४) विस्थापित दृश्य
फिल्मको अन्त्यतिर माओवादी जनयुद्धका कारण हजारौं मानिस विस्थापित भएको दृख्य देखाइन्छ। यथार्थमा माओवादी जनयुद्धका कारण हिमाली जिल्लाका भोटेबस्ती कहिलै विस्थापित हुनु परेन। यथार्थमा नेकपा माओवादी जनयुद्धको १० वर्षे इतिहासमा सुरुमा मध्य पहाडी र ६२ सालको आन्दोलनपछि उनीहरुले तराई, शहर, सडक र राजधानी केन्द्रित गतिविधिमा जोड दिएका थिए। यथार्थमा माओवादीले हिमाली गाउँलाई जहिलै सुरक्षित सेल्टरका रुपमा उपभोग गरेका थिए। त्यहाँ आंतक फैलाएनन्।
१५) The So Called Civil War
फिल्ममा निर्देशकले दृश्य र शब्दले कथा भन्नुपर्ने हो र त्यसैले दर्शकलाई सबै कुरा बुझाउनु पर्ने हो। तर सुरुदेखि अन्त्यसम्म जनयुद्धको पीडा दर्शकलाई फिल गराउन फिल्म असफल छ। द्वन्द्व कुखुरा खोज्दै जाँदा जंगलमा पुगेपछि क्रसफायरमा परेपछि एकाएक थोपरिन्छ र केही समयमा नै सकिन्छ। त्यसैले हुनसक्छ जनयुद्ध वास्तवमै खत्तम थियो भनेर देखाउन निर्देशकले अक्षरको सहायता लिएका छन् र फिल्मको अन्तिममा क्रेडिट लाइन आउनुअघि देखाइन्छ- The so called civil war…..त्यसपछि मानवअधिकार आयोगको तथ्याङ्क अनुसार यति मान्छे मरे, बेपत्ता भए लेखिएको हुन्छ।
सच्याउन खासै गाह्रो नहुने यी सिल्ली मिस्टेकहरुले गर्दा जनयुद्ध नै नबुझेको मान्छेले लेखेको कथामा फिल्म बनेको जस्तो लाग्छ। त्यसो त यो फिल्म हो सबैकुरा मिल्नुपर्छ भन्ने के छ र भन्ने कूतर्क पनि गर्न सकिन्छ। हो, मिल्नै पर्छ भन्ने हुन्न। तर जेमा आधारित भनेर क्रेडिट लाइन अगाडि वास्तविक तथ्याङ्क र फिल्म सुरु हुनुअगाडिको टाइमलाइन देखाइन्छ, त्यो अनुसार नहुनु त फिल्ममा जस्तै सेतो पोथीलाई जबर्जस्ती रङ्ग लगाएर कालो बनाइएकै जस्तो भएन र ?
यति हुँदाहुँदै पनि फिल्म वास्तवमै अरु नेपाली फिल्मभन्दा फरक भने बनेको छ। यसका सटहरु उत्कृष्ट छन्। विदेशी क्यामेराम्यानले क्लोजअप एक ठाउँमा पनि लिएका छैनन्। एक्स्ट्रा सटहरु गजबका छन्। मुगुको सौन्दर्य हैन त्यहाँको जीवनलाई क्यामेराले उतारेको छ। अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा यसको सेलेक्सनले त इतिहास नै बनाएको छ। भलै नेपालमा भूकम्प गएको बेला परेर सिम्प्याथी त्यतिबेला यो फिल्ममा गयो भनेर कूतर्क गर्नेहरु पनि भेटिन्छन्। तर भेनिस फिल्म फेस्टिभलको साइड इभेन्टमा एउटा उपाधि पाउनु र बुसान जस्तो फिल्म महोत्सवमा सेलेक्सन हुनु चानचुने कुरा होइन।
लगानीको कुरा
फिल्म हेर्दै गर्दा लगानीको कुरा पनि ध्यानमा आउँछ। यो फिल्म बनाउन साढे ३ करोड लगानी परेको दावी गरिएको छ। जबकि फिल्म हेर्दा त्यति धेरै लगानी पर्ने जस्तो देखिन्न। हो, केही टेक्निसियन विदेशी छन्, मुगु जस्तो ठाउँमा सुटिङ गर्नुपरेको छ। तर पनि साढे ३ करोड त बढी नै हुन्छ। कलाकारहरु मध्ये पनि एक जनाले त बीबीसीसँगको अन्तर्वार्तामै मैले त कति पनि पाएको छैन, बाउआमालाई दिएको भए थाहा छैन भनेका छन्। अर्का कलाकारले २५ हजार जति पाएको भनेका छन्। कलाकार धेरै पनि छैनन्।
यो बारेमा अन्तर्राष्ट्रिय फिल्म र लगानी बारे नजिकबाट बुझेका एक जनासँग बुझ्दा उनले यसो भने। कति सत्य हो तपाईँहरु आफै बुझ्नुस्-
यो फिल्मका लागि स्वीजरल्यान्डको ५० हजार स्विस फ्रान्स, जर्मनीको ३० हजार युरो र फ्रान्सको एक लाख १० हजार युरो लगानी थियो। तपाईँ नेपाली एनजिओ/आइएनजिओमा काम गर्ने नजिकका कोही छ भने बुझ्न सक्नुहुन्छ, विदेशबाट फन्डिङ ल्याउँदा विदेशी एजेन्टलाई समेत कति कमिसन खुवाउनु पर्ने हुन्छ भनेर। हो, फिल्मको क्षेत्रमा पनि यस्तै छ। विदेशबाट फन्डिङ ल्याउन सकिन्छ है भनेर यो फिल्मले ढोका पक्कै खोलेको छ। तर त्यो लगानी ल्याउन कुरा मिलाइदिने एजेन्टहरुले पनि कमिसन प्रशस्त त लिन्छन्। तिनै एजेन्टहरुको कमिसन पनि जोडेको भएर यो फिल्मको लगानी यति धेरै देखिएको हो।
जेसुकै भए पनि आखिरमा नेपालमा एउटा मौलिक फिल्म त बन्यो। यही उपलब्धि हो भनेर चित्त बुझाउनु नै जाति हुन्छ।
साभारः माईसंसार डटकमबाट