
बलिउडका दिग्गज कलाकार दीलिप कुमारको ९८ वर्षको उमेरमा बुधवार विहान निधन भएको छ । बलिउडका ‘ट्रेजेडी किङ’ को रुपमा चिनिने उनको मुम्बईको एक अस्पतालमा उपचारको क्रममा विहान ७ः३० बजे निधन भएको हो । उनी लामो समयदेखि विरामी थिए । गएको एक महिनामा उनी दुईपटक अस्पताल भर्ना भएका थिए । उनको निधनले बलिउड शोकमा डुबेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धीका साथै बलिउडका कलाकारहरुले उनको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । दीलिप कुमारले फिल्म ‘ज्वार भाटा’ बाट अभिनय करिअर सुरु गरेका थिए । सन् १९४७ मा रिलिज भएको फिल्म ‘जुगनू’ ले भने उनलाई ख्याती दिलाएको थियो । आफ्नो करिअरको दौरान उनले ६० भन्दा बढी फिल्ममा काम गरे ।
पहिलो फिल्म ‘ज्वार भाटा’ का लागि उनले १२ सय ५० रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यसबेला उनी २२ वर्षका थिए । २५ वर्षको उमेरमा भारतका नम्बर वान अभिनेताको रुपमा स्थापित उनले ४४ वर्षको उमेरमा अभिनेत्री सायरा बानोसँग विवाह गरेका थिए । उनको अन्तिम फिल्म ‘किला’ हो, जुन १९९८ मा रिलिज भएको थियो । उनले आठवटा फिल्मफेयर अवार्ड जितेका छन् ।
.jpg)
दीलिप कुमारलाई उनको अभिनयका लागि भारत सरकारले सन् १९९१ मा पद्मभूषणबाट सम्मानित गरेको थियो । त्यस्तै, सन् १९९५ मा उनलाई फिल्मको सर्वोच्च राष्ट्रिष्य सम्मान दादा साहब फाल्के अवार्ड पनि मिलेको थियो । त्यति मात्र होइन, पाकिस्तान सरकारले पनि उनलाई १९९७ मा निशान-ए-इम्तियाजबाट सम्मान गरेको थियो, जुन पाकिस्तानको सर्वोच्च नागरिक सम्मान हो ।

