Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमालले बाँडे बाढी पीडितलाई राहत

फिल्मीखबर, काठमाडौं, 2021/07/06
 
सिन्धुपाल्चोकको इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरी गाउँ तहसनहस बनाएको छ । बाढीका कारण सयौं बेघर भएका छन् । उनीहरुलाई सहायता उपलब्ध गराउन कलाकारहरु सक्रिय रुपमा लागेका छन् । अभिनेता कृष्ण मल्लको संयोजकत्वमा सिन्धु सहयोग कोष स्थापना भएको छ भने केही कलाकारले बाढी पीडितलाई राहत सामाग्री बाँडिसकेका छन् । 
 
सिन्धुपाल्चोकका बासिन्दाको पीडामा मलहम लगाउन अभिनेता राजेश हमाल पनि अगाडि सरेका छन् । राहत बाँड्ने उद्देश्यले सोमवार सिम्रिक एयरको हेलिकप्टरमा सवार भएर हेलम्बु र पाँचपोखरी पुगेका उनलाई स्थानीयहरुले भव्य स्वागत गरेका थिए । बाढी पीडितको अवस्थाबारे जानकारी लिँदै उनले त्यहाँका बाढी प्रभावितलाई सोलार, स्वास्थ्य सामाग्री र नगद पनि सहयोग गरे ।
 
हेल्प अर्गनाइजेसन र विआइए संस्थाको सहकार्यमा राहत बाँड्न हमाल सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र पुगेका हुन् । उनले सामाजिक सञ्जालमा बाढी प्रभावित क्षेत्रको अवलोकन र राहत वितरणका तस्विरहरु शेयर गरेका छन् । ढिलो गरी भए पनि बाढी पीडितका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेकोमा उनलाई सामाजक सञ्जालमा शुभचिन्तकहरुले धन्यवाद भनेका छन् ।
 
कतिपयले भने राहत सामाग्रीभन्दा महंगो भाडा तिरेर हेलिकप्टरमा गएको भन्दै राजेश हमालको आलोचना गरेका छन् । तर, बाढीले हेलम्बुसँग जोड्ने सडक क्षतविच्छेद भएकाले उनी हेलिकप्टरको माध्यमबाट त्यहाँ पुगेका हुन् । यसअघि अभिनेत्री श्वेता खड्काले पनि गाडी जाने अवस्था नभएपछि हेलिकप्टरबाटै हेलम्बुका बाढी पीडितका लागि राहत सामाग्री पुर्‍याएकी थिइन् । 
 

Most Visited News (monthly)