
कहिले कोरोना कहर त कहिले विदेशी फिल्मको डरले पटक-पटक प्रदर्शन मिति सरेको फिल्म ‘चपली हाइट ३’ ले शुक्रवारबाट भने प्रदर्शन थालनी गर्यो । ब्रान्ड फिल्मको सिरिज भएकाले यो फिल्मले हलमा दर्शकको भीड तान्ने धेरैको आशा र अपेक्षा थियो । तर, फिल्मलाई अपेक्षा विपरित नतिजा मिलेको छ । निर्माता अर्जुन कुमार स्वयंले फिल्म हेर्ने दर्शक नभएको स्वीकार गरेका छन् ।

दुई ठूला विदेशी फिल्म ‘पुष्पा’ को हिन्दी डब र ‘स्पाइडर म्यान : नो वे होम’ को चुनौतीका बीच पुष १६ गतेबाट प्रदर्शनमा आएको नेपाली हरर फिल्म ‘कठपुतली’ ले तेस्रो हप्तामा पनि मल्टीप्लेक्स र सिंगल थिएटरहरुमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ । अब्बल माउथ पब्लिसिटी र ओमिक्रोनको भयले विदेशी फिल्मको रिलिज रोकिँदा फिल्मले दर्शकको राम्रो साथ पाएको छ ।

नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९ : लेभल वान’ को आउँदो फागुनबाट छायांकन सुरु गर्ने तयारी गरिएको थियो । ३ महिनादेखि फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का र राज कटुवालले जिम र एक्सनको तालिम लिँदै आएका छन् । चारै जना कलाकारले फिल्मका लागि तौल बढाउनुका साथै शरीर सुगठित बनाएका छन् ।

दिनेश पाल्पालीको निर्देशनमा तयार भएको फिल्म ‘चिसो एस्ट्रे’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘ड्रिम पाइरेसी’ बोलको गीतमा अजर जंगमको स्वर तथा संगीत छ । गीतको शब्द निर्देशक पाल्पाली स्वयंले लेखेका हुन् । अरुले बाँचिरहेका सपनाहरु पूरा गर्न मानिसहरुले गरेको दौडधुपको कथा गीतले भन्छ । गायक जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए ।

साउथको चर्चित जोडी सामन्था रुथ प्रभु र नागा चैतन्यले २०२१ को अक्टोबरमा करीब ४ वर्ष लामो वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाए । आपसी मतभेदका कारण उनीहरुले वैवाहिक जीवन तोडेको भारतीय मिडियाले दाबी गर्दै आएका छन् । तर, सामन्थासँग डिभोर्स भएदेखि मौन रहेका नागाले हालै एक टिभी इन्टरभ्यूमा एकअर्काको खुसीका लागि आफूहरु अलग भएको बताएका छन् ।

साउथ इन्डस्ट्रीमा हरेक नाम चलेका हिरोहरुले उपाधि बोकेर बसेका छन् । उनीहरुले अभिनय गरेको फिल्ममा उपाधि अनिवार्य झुन्ड्याइने गरिन्छ । नेपालमा साउथ फिल्मको बढ्दो प्रभावसँगै नेपाली फिल्ममा पनि कलाकारलाई उपाधि दिने चलन फस्टाएको छ । फिल्म ‘आप्पा’ मा दयाहाङ राई र ‘लप्पन छप्पन २’ को ट्रेलरमा सौगात मल्ललाई ‘सुपरस्टार’ को उपाधि भिराइएको थियो ।

