दिनेश पाल्पालीको निर्देशनमा तयार भएको फिल्म ‘चिसो एस्ट्रे’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘ड्रिम पाइरेसी’ बोलको गीतमा अजर जंगमको स्वर तथा संगीत छ । गीतको शब्द निर्देशक पाल्पाली स्वयंले लेखेका हुन् । अरुले बाँचिरहेका सपनाहरु पूरा गर्न मानिसहरुले गरेको दौडधुपको कथा गीतले भन्छ । गायक जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए ।
.jpg)
‘हामी अहिले ग्लोब भिलेजमा छौँ जहाँ हामीले देख्ने सपनासमेत आयातित छन् । फिल्ममा चरित्रले यस्तै सपना देख्छन् जुन आफैँमा मौलिक होइनन् । निर्देशकले फिल्मका चरित्रलाई खिपेर शब्द लेख्नु भएको थियो जसलाई मैले संगीत र स्वरद्धारा अभिव्यक्त गर्ने कोशिस गरेको छु,’ अजरले भने । गीतमा युवापुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मालाई एनिमेसन गरी देखाइएको छ ।
चैत ४ मा प्रदर्शनमा आउन लागेको फिल्मले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेस गर्छ । महेशबाबु तिमल्सिना निर्माता रहेको फिल्ममा उज्जल बस्ताकोटीको छायांकन र उज्जवल ढकालको सम्पादन छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित छ,’ निर्माता महेशबाबु तिमल्सिनाले जानकारी दिए ।
कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह–निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् । केही हप्ताअघि सार्वजनिक भएको फिल्मको टिजरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

