
कहिले कोरोना कहर त कहिले विदेशी फिल्मको डरले पटक-पटक प्रदर्शन मिति सरेको फिल्म ‘चपली हाइट ३’ ले शुक्रवारबाट भने प्रदर्शन थालनी गर्यो । ब्रान्ड फिल्मको सिरिज भएकाले यो फिल्मले हलमा दर्शकको भीड तान्ने धेरैको आशा र अपेक्षा थियो । तर, फिल्मलाई अपेक्षा विपरित नतिजा मिलेको छ । निर्माता अर्जुन कुमार स्वयंले फिल्म हेर्ने दर्शक नभएको स्वीकार गरेका छन् ।
उनले निराश भावमा भने- ‘फिल्म भयंकर चल्यो भनेर मलाई झुटको खेती गर्नु छैन । फिल्म हेर्नका लागि हलमा दर्शक नै छैन । दर्शक किन आएनन्, मैले बुझ्न सकेको छैन । कोरोनाको डरले पो होकी ? हल बन्द भयो भनेर हल्ला फैलाउने काम पनि गरिएछ । फिल्म प्रदर्शन गरिहालियो, जस्तो नतिजा आए पनि स्वीकार गर्नै पर्छ ।’ उनले अब हलमा दर्शक बढ्ने आश पनि गरेका छैनन् ।
निकेश खड्का निर्देशित फिल्मले समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ । कलाकारहरुको अभिनय, प्रस्तुतीकरण, छायांकन, ब्याकग्राउन्ड स्कोर र अन्तिमसम्म हलमा बाँधिराख्न सफल सस्पेन्स पाटोलाई समीक्षकले रुचाएका छन् । निर्देशक खड्काको निर्देशकिय कौशलको पनि प्रशंसा भएको छ । फिल्मको मेरुदण्ड मानिने पटकथामाथि भने समीक्षकहरुले औंला उठाएका छन् ।
स्वस्तिमा खड्का, आमिर गौतम, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा लगायतको अभिनय रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, डिपी खनालको शब्द, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन छ । ‘चपली हाइट ३’ क्राइम-थ्रिलर जनरामा बनेको हो ।

