.jpg)
साउथ इन्डस्ट्रीमा हरेक नाम चलेका हिरोहरुले उपाधि बोकेर बसेका छन् । उनीहरुले अभिनय गरेको फिल्ममा उपाधि अनिवार्य झुन्ड्याइने गरिन्छ । नेपालमा साउथ फिल्मको बढ्दो प्रभावसँगै नेपाली फिल्ममा पनि कलाकारलाई उपाधि दिने चलन फस्टाएको छ । फिल्म ‘आप्पा’ मा दयाहाङ राई र ‘लप्पन छप्पन २’ को ट्रेलरमा सौगात मल्ललाई ‘सुपरस्टार’ को उपाधि भिराइएको थियो ।
अहिलेका चल्तीका अभिनेता अनमोल केसीलाई पनि फिल्म ‘ए मेरो हजुर ३’ को टिजर र ट्रेलरमा ‘मेगास्टार’ भनेर लेखियो । फिल्म ‘कृ’ को ट्रेलर रिलिज कार्यक्रममा उद्घोषक नरेश भट्टराईले अनमोललाई ‘मेगास्टार’ भनेर सम्बोधन गरेपछि उनका फ्यानहरुले यो उपाधिको स्वागत गरेका थिए । तर, दर्शकको ठूलो जमातले अनमोल अहिले नै यो उपाधिको हकदार नभएको भन्दै टिप्पणी गरे ।
निर्देशक झरना थापाले अनमोललाई खुसी बनाउन र आफ्नो ब्यानरसँग जोडिराख्ने स्वार्थले ‘ए मेरो हजुर ३’ को टिजरमा उनलाई ‘मेगास्टार’ भनेर सम्बोधन गरेको आरोप समेत लागेको थियो । यसैले होला, ‘ए मेरो हजुर ४’ को टिजरमा अनमोललाई ‘मेगास्टार’ को उपाधि दिइएको छैन । निर्माण टिमले अनमोललाई फेरि ‘मेगास्टार’ को उपाधि भिराएर विवाद चर्काउन नचाहेको देखिन्छ ।
शुक्रवार सार्वजनिक भएको टिजरमा अनमोल केसी र सुहाना थापाको केमेस्ट्री गजब देखिएको छ । प्रेमिल र वियोगान्त संवादले टिजरलाई बलशाली बनाएको छ । यसअघि चैत २५ मा आउने तयारीमा रहेको यो फिल्म अब बैशाख १ गतेबाट प्रदर्शमा आउँदैछ । झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसका अघिल्ला तीनै सिरिज सुपरहिट भएका थिए ।

