
इभा गिरी भन्नासाथ तपाईंलाई के याद आउँछ ? उनको नृत्य शैली कि ग्ल्यामरस लुक ? सम्भवतः धेरैको जवाफ दोस्रो हुन सक्छ । किनकि, उनी बोल्ड पहिरनकै कारण बढीमा चर्चामा रहन्छिन् । तर, अब उनले फिल्म ‘पाँच पाण्डव’मार्फत दर्शकलाई सरप्राइज दिँदैछिन् । यसमा उनी आफ्नो छविभन्दा बिल्कुलै फरक अवतारमा प्रस्तुत भएकी छन् ।
मंगलबार सार्वजनिक फिल्मको पोस्टरमा उनलाई द्रोपदीको रूपमा चिनाइएको छ । रातो कट ब्लाउज र रातै साडीमा देखिएकी उनको लुक्सले महाभारतकी द्रोपदीको झल्को दिन्छ । पृष्ठभूमिमा भने फिल्मका पाँच पाण्डव (हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला) देखिएका छन् । यसले फिल्मको कथा महाभारतबाट प्रेरित रहेको संकेत गर्छ ।
वसन्त निरौलाको निर्देशनमा बनेको यस फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सिता न्यौपानेलगायतका कलाकारहरूले पनि अभिनय गरेका छन् । फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन् भने नवीन श्रेष्ठ प्रस्तुतकर्ताका रूपमा छन् । नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
रंग पत्रकार तथा ‘प्रसाद’का लेखक सुशील पौडेलको लेखन रहेको फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत तथा पुकार धिमालको भिएफएक्स छ । फिल्म तिहारको अवसर पारेर कात्तिक २० गतेबाट प्रदर्शनमा आउनेछ ।

