
काठमाडौं । ठूलो चर्चाबीच प्रदर्शनमा आएको फिल्म ‘आचार्य’ बक्स अफिसमा कमजोर देखिएको छ । निखिल उप्रेतीको अभिनय तथा निर्देशनमा बनेको यो फिल्मले प्रदर्शनको १० दिनमा जम्मा डेढ करोड ग्रस कमाएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणमा १८ असोजसम्म फिल्मको कमाइ १ करोड ५६ लाख ३७ हजार ५४६ रुपैयाँ छ ।
असोज ९ गते ‘आचार्य’सँग एकसाथ प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’को कमाइ भने झन्डै २ करोड हाराहारी देखिएको छ । फिल्मले हिजो आइतबारसम्म १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कमाएको छ । फिल्मको यो कमाइ ‘आचार्य’भन्दा ३६ लाख ६८ हजार ९१९ रुपैयाँले बढी हो । जबकि, ‘बाः एक योद्धा’को ओपनिङ ‘आचार्य’भन्दा कमजोर थियो ।
यी दुई फिल्मसँग एकसाथ प्रदर्शन भएको फिल्म ‘जदौ’को कमाइ भने निकै दयनीय छ । अभिनेत्री नीति शाहको मुख्य भूमिका रहेको यो फिल्मले १० दिनमा जम्मा १३ लाख ९८ हजार ७१५ रुपैयाँ ग्रस कमाएको छ । सो अवधिमा ३ हजार ८३७ जनाले फिल्म हेरेका छन् । यो यस वर्ष सबैभन्दा कम कमाउने नेपाली फिल्मको ‘टप टेन’भित्र परेको छ ।
त्यस्तै, बोर्डको सिनेपाः विवरणअनुसार ‘गौँथली’ले २६ करोड १ लाख, ‘पेन्सन पट्टा’ले ९ करोड १३ लाख, ‘बेहुली’ले २ करोड ९९ लाख, ‘पार्वती’ले २ करोड २९ लाख, ‘झिँगेदाउ २’ले १ करोड ४५ लाख र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले १ करोड २७ लाख रुपैयाँ ग्रस कमाएका छन् । यसमध्ये ‘गौँथली’ र ‘पेन्सन पट्टा’ यस वर्ष सर्वाधिक कमाउने पहिलो र तेस्रो फिल्म बनेका छन् ।

