.png)
यही शुक्रबार अर्थात् असोज २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अक्षरा’ले प्रचार अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा आइतबार फिल्मको टिमले काठमाडौंमा साइकल र्याली गरेको छ । कीर्तिपुरबाट सुरु भएको साइकल र्याली कपनस्थित क्लब मण्डलासम्म पुगेको थियो । र्यालीमा २ सय ५० भन्दा बढी साइकल यात्रीहरू सहभागी थिए ।
र्यालीपछि क्लब मण्डलामा आयोजित पत्रकार भेटघाटमा निर्देशक विनयराज पौडेलले महिला सशक्तिकरणको कथामा फिल्म आधारित रहेको जानकारी दिए । उनले भने, ‘यो फिल्म महिलाहरूको आवाज हो । तर, यो भन्दैमा फिल्मले महिलाको मात्र कथा उठाएको छैन । नेपाली समाजका विभिन्न पक्षलाई पनि फिल्ममा देखाएका छौं ।’
फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काले ‘अक्षरा’ आफ्नो लागि विशेष रहेको बताइन् । यसमा आफूले काम देखाउने मौका पाएको उनको भनाइ छ । उनी भन्छिन्, ‘यो फिल्मको सिंगो कथालाई नै मेरो पात्रले ‘क्यारी’ गरेको छ । त्यो हिसाबले काम गर्न निकै चुनौतीपूर्ण भयो । तर, यो मेरो लागि ठूलो अवसर पनि थियो । फिल्ममा मैले भावनाका विभिन्न आयाम देखाउन पाएकी छु ।’
.png)
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा न्यान्सीसहित सुशील सिटौला, रिस्ता बस्नेत, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्कालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माताको रूपमा छन् ।

