
निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन सकाएका छन् । आइतबार पोखरामा अन्तिम दृश्य खिचिएसँगै ४० दिनमा फिल्मको छायांकन पूरा भएको हो । फिल्मको अधिकांश छायांकन पोखरामै गरिएको हो । असोज ८ गतेदेखि देशभर निरन्तर वर्षा हुँदा तीन दिन फिल्मको छायांकन समेत स्थगित गरिएको थियो ।
प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा छन् । यो उनीहरूको पहिलो सहकार्य हो । फिल्ममा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, विशाल पहारी, मेक्सम गौडेल, अन्शु महर्जन, विन्दा खतिवडा, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाललगायतको पनि अभिनय छ ।
सुप्रिया कटुवाल निर्माता रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्मातामा छन् । फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् । पटकथा तथा संवाद रामशरण पाठकको हो । फिल्ममा राजेश श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत तथा विक्रम स्वारको नृत्य निर्देशन छ भने सम्पादन मिलन श्रेष्ठले गर्नेछन् ।
‘सात वाचाभन्दा पनि परको सत्य’ ट्यागलाइन राखिएको यो फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यही मितिमा अभिनेत्री पूजा शर्माले निर्माण गरेको फिल्म ‘रत्यौली’ पनि प्रदर्शन हुँदैछ । कुनै बेला एकअर्काका परिपुरक मानिने सुदर्शन र पूजा पहिलो पटक बक्स अफिसमा आमनेसामने हुने भएपछि यो भिडन्तलाई चासोका साथ हेरिएको छ ।

