
‘परालको आगो’का निर्देशक लक्ष्मण सुनारको नयाँ फिल्म ‘सिन्दूर’को चार दिनदेखि पश्चिम नेपालको दाङमा छायांकन भइरहेको छ । गत शुक्रबार फिल्मको मुहूर्त गर्दा मुख्य कलाकारमा पुष्प खड्का र प्रशंसा रायमाझीको नाम मात्र सार्वजनिक गरिएको थियो । अब थप दुई कलाकारबारे जानकारी गराइएको छ । फिल्ममा निरुता सिंह र विपिन कार्की आबद्ध भएका छन् ।
निरुताले यसै साता फिल्मको छायांकन सुरु गर्नेछिन् । विपिन भने दशैंपछि छायांकनमा जोडिने जनाइएको छ । फिल्ममा पहिलो पटक निरुता र विपिन एकसाथ देखिन लागेका हुन् । उनीहरूको भूमिकाबारे भने निर्माण पक्षले जानकारी गराएको छैन । फिल्ममा अघिल्लो पुस्ताकी चर्चित अभिनेत्री रेजिना उप्रेतीको पनि अभिनय देख्न पाइनेछ ।
सञ्जीव सार्कीको लगानीमा बन्ने फिल्ममा दिनेश सिंह महरा कार्यकारी निर्मातामा छन् । फिल्ममा निर्देशक सुनार स्वयंको लेखन छ भने संकल्प भुजेलको छायांकन, प्रशान्त सिवाकोटी, श्रीकृृष्ण बम मल्ल र दिनेश ढकालको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ । फिल्मले विवाहित महिलाका लागि सिन्दूरको महत्त्व कति हुन्छ भन्ने कथा प्रस्तुत गर्ने जनाइएको छ ।

