बौद्धिक अभिनेत्रीको रूपमा चिनिएकी सुरक्षा पन्तको करिअर यतिबेला सबैभन्दा सकसपूर्ण अवस्थामा छ । त्यसको मुख्य कारण फिल्मको असफल हो । गएको ६ वर्षमा उनका आधा दर्जनभन्दा बढी फिल्म डुबिसकेका छन् । त्यसमध्ये कति फिल्म हलमा लागेको र उत्रिएको समेत दर्शकले थाहा पाएनन् । अब उनको फ्लप सूचीमा ‘चमेलीको पोइ’ पनि थपिएको छ ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मलाई पहिलो दिन नै दर्शकको हाहाकार भएको थियो । त्यसपछि पनि अवस्था सुध्रिएको छैन । फिल्म हेर्न दर्शक नै नआएपछि अधिकांश हलले शो हटाइसकेका छन् । करिब ४० हाराहारी शोबाट प्रदर्शन सुरु गरेको फिल्म अहिले देशव्यापी जम्मा चार शोमा सीमित छ । यसले पनि फिल्मको हलको अवस्था दर्साउँछ ।
‘चमेलीको पोइ’ पूर्ण रूपमा सुरक्षामा केन्द्रित फिल्म हो । यसैले फिल्म चलाउनुपर्ने दबाब उनीमाथि नै बढी थियो । तर, फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया नपाउँदा उनी फेरि अर्को असफलताको भारी बोक्न बाध्य भएकी छन् । यसअघि उनका फिल्म नचले पनि अभिनयको भने प्रशंसा हुने गरेको थियो । तर, यसपटक त्यो पनि भएन, जुन उनको साखमै ठूलो धक्का हो ।
यस वर्षका लागि सुरक्षाको यो दोस्रो फ्लप फिल्म हो । यसअघि गत जेठमा उनी अभिनीत फिल्म ‘लाइफ ड्यामेज’ प्रदर्शन भएको थियो । यो फिल्म व्यावसायिक रूपमा फ्लप नै भए पनि बक्स अफिसमा सम्मानजनक कमाइ गरेको थियो । फिल्मले करिब ३५ लाख कमाएको थियो । तर, ‘चमेलीको पोइ’को कमाइ त्यसको आधा पनि पुगेको छैन । यो सुरक्षाका लागि ठूलो तनाव हो ।

