Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाटुलो जून’को टिजरमा जवानीका भुवन बने अनमोल

फिल्मीखबर, काठमाडौं, 2026/10/02

Batulo Jun

 

नेपालमा कुनै अभिनेता जुँगाका कारण परिचित छन् भने ती भुवन केसी हुन् । उनको व्यक्तित्वमा जुँगाले छुट्टै आकर्षण थपेको छ । उनले जुँगा बिना सम्भवतः फिल्म समेत खेलेका छैनन् । अब उनकै जुँगाको स्टाइलमा छोरा अनमोल केसी फिल्म ‘बाटुलो जून’मा देखिने भएका छन् । शुक्रबार सार्वजनिक टिजरमा उनको जुँगासहितको लुक देखाइएको छ ।

झन्डै दुई मिनेट लामो टिजरले फिल्मको कथा र परिवेशबारे जानकारी दिएको छ । टिजरको सुरुवात भुवन केसीबाट हुन्छ, जहाँ उनी आफ्नो जवानी उमेरको प्रेम सम्झेर भावुक देखिन्छन् । त्यसपछि अनमोल र प्रिन्सी खतिवडाबीचको प्रेमलाई देखाइएको छ । टिजरले फिल्ममा अनमोल बुवा भुवनको युवावस्थाको भूमिकामा रहेको प्रस्ट पार्छ । 

‘बाटुलो जून’ नेपाली समाजको ३०-४० को दशकको प्रेमकथामा आधारित फिल्म हो । फिल्मले एक जोडीको आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली, रहनसहन र प्रेम गर्ने तौरतरिकालाई पर्दामा उतार्ने प्रयास गरेको छ । टिजर हेर्दा फिल्मले फरक जातीय र आर्थिक पृष्ठभूमिका दुई पात्रको अधुरो प्रेमकथालाई प्रस्तुत गरेको देखिन्छ । 

भुवन केसीको निर्देशनमा बनेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी अभिनेत्री गरिमा पन्तसँग बाँधिएको छ । भुवन र गरिमाको युवावस्थाको भूमिका अनमोल र प्रिन्सीले निर्वाह गरेका छन् । उनीहरूसहित फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटीलगायतको पनि अभिनय छ ।

तिहारको अवसर पारेर आगामी कार्तिक २६ गते (१२ नोभेम्बर)बाट प्रदर्शनमा आउने फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन तथा रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ । फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रूपमा छन् । फिल्मलाई जीया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा सह-निर्मातामा छन् ।