पछिल्लो समय फिल्म निर्माणमा व्यावसायिक घरानाहरूको आकर्षण बढ्न थालेको छ । शेखर गोल्छा, धीरजकुमार अग्रवाल, नितेश मालपानी, राजेन्द्र शाक्य, दीपक मल्होत्रालगायतका उद्योगीले फिल्म निर्माणमा हात हालिसकेका छन् । अब नेपालको सबैभन्दा ठूलो व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी पनि फिल्म निर्माणमा होमिएका छन् ।
उनले पहिलो पटक निर्माण गरेको फिल्म ‘टनेल २६’ आगामी शुक्रबार अर्थात् २३ असोजदेखि प्रदर्शन हुँदैछ । फिल्म निर्माणमा चौधरी ग्रुपको संलग्नता यो पहिलो पटक भने होइन । २०४१ सालमा प्रदर्शन भएको फिल्म ‘वासुदेव’ निर्वाणका बुवा तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले निर्माण गरेका थिए, जुन नेपालको ‘कल्ट क्लासिक’ फिल्ममा पर्छ ।
‘वासुदेव’ रिलिजको चार दशकपछि चौधरी ग्रुपबाट फिल्म निर्माणमा होमिएका निर्वाणलाई ‘टनेल २६’मा सहकार्यको प्रस्ताव भुटानी कलाकार सांगे सेल्ट्रिमले गरेका थिए । भुटान र नेपालको सम्बन्धलाई थप मजबुत बनाउन फिल्ममा सहकार्य गर्ने उनको प्रस्ताव निर्वाणलाई पनि मन परेपछि उनी स्क्रिप्ट नै नहेरी फिल्ममा लगानी गर्न तयार भएका थिए ।
उनी भन्छन्, ‘सांगे सेल्ट्रिमसँग केही पटकको भेटपछि हामीबीच एकदमै राम्रो मित्रता बन्यो । त्यही क्रममा उहाँले नेपाल र भुटानको सम्बन्धलाई अझ मजबुत बनाउन मिलेर फिल्म निर्माण गर्ने प्रस्ताव ल्याउनुभयो । त्यो प्रस्ताव मलाई एकदमै मनपर्यो । सांगेप्रतिको विश्वासकै भरमा मैले स्क्रिप्ट समेत नहेरी लगानी गर्ने वाचा गरेँ । पछि फिल्ममा भारतको कम्पनी पनि जोडियो ।’
फिल्म निर्माणमा आउने सोच भने आफ्नो धेरै अघिदेखिको रहेको उनले बताएका छन् । ‘म बुवाबाटै प्रेरित भएर ‘टनेल २६’मा निर्माताको रूपमा जोडिएको हुँ । मलाई बच्चैदेखि ‘स्टोरी टेलर’ एकदमै मनपर्थ्यो । यसैले फिल्म बनाउने इच्छा वर्षौंअघिदेखिको थियो । बिजनेस सेटल भएपछि फिल्म निर्माणमा आउँछु भन्ने सोचिरहेकै थिएँ । ‘टनेल २६’बाट त्यो अवसर जुर्यो,’ उनले भने ।
निर्वाण फिल्मको छायांकनमा भने एकपटक मात्र पुगेका थिए । त्यसबेला नै उनी फिल्म राम्रो बन्नेमा विश्वस्त थिए । उनी सम्झन्छन्, ‘म फिल्मको छायांकनमा एकचोटी पुगेको थिएँ, त्यो पनि १५-२० मिनेटलाई । त्यसबेला निर्देशक र कलाकारहरूको मिहिनेत देख्दा फिल्म राम्रो बन्छ भन्नेमा विश्वस्त थिएँ ।’ उनले ‘टनेल २६’ विश्वस्तरमा पुग्नुपर्ने फिल्म रहेको समेत बताए ।
डीडी किन्लेले लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनुप विक्रम शाही, आना शर्मा, सांगे सेल्ट्रिम, रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्त्सो, किनराब, चेन्चो लामा, केजाङ काजलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा प्रदीप खड्काले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । उनी फिल्मका क्रिएटिभ प्रोड्युसर समेत हुन् ।

