Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिँगेदाउ’ले नपत्याउने कमायो, सिक्वेलले लगानी पनि उठाएन

फिल्मीखबर, काठमाडौं, 2026/10/05

keki and aachal

 

विश्वमै सबैभन्दा सुरक्षित फिल्म सिक्वेललाई मानिन्छ । किनकि, यस्ता फिल्म सफल हुने सम्भावना बढी हुन्छ । नेपालकै हकमा कुरा गर्ने हो भने सिक्वेल फिल्महरू प्रायः व्यावसायिक रूपमा सफल छन् । तर, सबै सिक्वेल फिल्म चल्छन् भन्ने ग्यारेन्टी भने छैन । यसको सबैभन्दा ज्वलन्त उदाहरण ‘नाइँ नभन्नू ल ६’ हो । यो नेपालको सबैभन्दा ठूलो ‘डिजास्टर’ सिक्वेलमध्ये पर्छ । 

यस्तैमा अब ‘झिँगेदाउ २’ पनि असफल सिक्वेलको सूचीमा थपिएको छ । गत असोज २ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्मले हिजो आइतबार (१८ असोज)सम्म ४७ हजार ९५८ वटा टिकट बिक्री गर्दै १ करोड ४५ लाख ६० हजार ६१६ रुपैयाँ ग्रस कमाइ गरेको छ । यसमा पछिल्लो ७ दिनको योगदान १० लाख ७६ हजार रुपैयाँ मात्र हो ।

फिल्मले व्यापारिक गति समात्न नसकेपछि अधिकांश हलले शो हटाइसकेका छन् । तेस्रो सातामा आइपुग्दा फिल्मको देशव्यापी शो ३ वटा छ । यो भनेको फिल्म पूर्ण रूपमा असफल भएको प्रमाण हो । अहिलेसम्मको कमाइ हेर्दा फिल्मले निर्मातालाई बढीमा ७० लाख रुपैयाँ सेयर दिने देखिन्छ । जबकि, फिल्ममा लगानी नै दुई करोडमाथि छ । अर्थात् फिल्म ‘डिजास्टर’ भएको छ ।

प्रदर्शनपूर्व धेरैले ‘झिँगेदाउ २’लाई यस वर्षको ‘स्योर सट’ हिट मानेका थिए । किनकि, ट्रेलर र गीतबाट फिल्मको चर्चा लोभलाग्दो थियो । त्यसमाथि फिल्म रिलिजको मुखमै ‘झिँगेदाउ’लाई युट्युबमा रिलिज गरिएको थियो । त्यसले पाएको प्रतिक्रियाले पनि ‘झिँगेदाउ २’ सफल हुने धेरैको अपेक्षा थियो । तर, फिल्मले नेपालबाट लगानी पनि उठाउन सकेन ।

२०७९ सालमा प्रदर्शन भएको ‘झिँगेदाउ’को पहिलो श्रृंखलाले भने बक्स अफिसमा नसोचेको सफलता पाएको थियो । न्यून शोबाट प्रदर्शन सुरु गरेको फिल्मले ‘वर्ड अफ माउथ’को बलमा दोस्रो साताबाट व्यापारिक गति समातेको थियो । अन्ततः फिल्मले साढे ३ करोडमाथिको व्यापार गर्दै ‘हिट’को ट्याग पाएको थियो । तर, सोही फिल्मको सिक्वेल भने बक्स अफिसमा नराम्रोसँग डुबेको छ ।