Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टनेल २६’बारे अनुप भन्छन्– ‘बिल्कुलै भिन्न कथा ल्याएका छौं’

फिल्मीखबर, काठमाडौं, 2026/10/06

anoop bikram shahi

 

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६’ यही शुक्रबार (२३ असोज)बाट प्रदर्शनमा आउँदैछ । जोम्बी कथामा आधारित फिल्मको सम्पूर्ण छायांकन भुटानमा भएको हो । फिल्ममा बहुसंख्यक कलाकार पनि भुटानी नै छ । नेपालबाट भने अनुप विक्रम शाही र आना शर्माले मुख्य भूमिकामा अभिनय गरेका छन् । 

यतिबेला फिल्मको प्रचारका लागि भुटानमा रहेका अनुपले ‘टनेल २६’मार्फत दर्शकलाई फरक कथा पस्किने प्रयास गरेको बताए । उनले भने, ‘हामीले यसमा बिल्कुलै भिन्न कथा ल्याएका छौँ । यो जोम्बी विधामा बनेको फिल्म हो । नेपाली फिल्म उद्योगमा पहिलो पटक जोम्बी फिल्म बनाउने प्रयास गरेका छौं । सस्पेन्स–थ्रिलर मनपर्ने दर्शकलाई यो फिल्म अवश्य मनपर्छ ।’

फिल्मको छायांकन भुटानमा भए पनि यसलाई भुटानी फिल्मका रूपमा मात्र बुझ्न नहुने उनको भनाइ छ । उनका अनुसार ‘टनेल २६’ नेपालमा नेपाली भाषामै रिलिज हुनेछ । त्यसैले यसलाई नेपाली फिल्मको रूपमा लिनुपर्ने उनको तर्क छ । फिल्मले नेपाल र भुटानबीचको दौत्य सम्बन्धलाई मजबुत बनाउन पनि भूमिका खेल्ने उनको विश्वास छ ।

उनले ४० दिनसम्म एउटै लुगामा फिल्मको छायांकन गरेको पनि स्मरण गरे । ‘फिल्मभरि हामी सबै कलाकारले एउटै लुगा लगाएका छौं । किनकि, यो टनेलभित्रको कथा हो । हप्ता दिनसम्म हामी टेनलभित्रै थुनिएका हुन्छौं । त्यो बेला अर्को लुगा लगाउने भन्ने कुरै हुँदैन,’ उनले भने । भुटानमा ४० दिनसम्म छायांकन गर्दा आफ्नै देशजस्तो अनुभव भएको पनि उनले बताए ।

डीडी किन्लेले लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनुपसहित आना शर्मा, सांगे सेल्ट्रिम, रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्त्सो, किनराब, चेन्चो लामा, केजाङ काजलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा अभिनेता प्रदीप खड्काले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । उनी फिल्मका क्रिएटिभ प्रोड्युसर समेत हुन् ।