जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ । शुक्रबार एक भिडियोमार्फत फिल्म निर्माणको घोषणा गरिएको हो । भिडियोलाई रमाइलो शैलीमा तयार पारिएको छ, जसमा निर्देशकको पछिल्लो फिल्म नै रिलिज हुन नसकेकोजस्ता प्रसंग राखिएको छ । भिडियोको प्रस्तुति शैली हेर्दा फिल्म हास्यप्रधान हुने देखिन्छ ।
‘नयाँ ऊर्जा, नयाँ नियम, प्रोफेसनल गाइज आउँदैछन्’ भन्ने स्लोगन राखिएको फिल्मलाई मार्टिन भण्डारी र डार्विन श्रेष्ठले लेखन तथा निर्देशन गर्नेछन् । यो उनीहरूको दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सन् २०२२ मा फिल्म ‘यार्सा : द मिस्टिकल स्टोन’ बनाएका थिए, जुन अहिलेसम्म रिलिज हुन सकेको छैन ।
अमन श्रेष्ठ र डार्विन श्रेष्ठ निर्माता रहेको फिल्ममा मार्टिन भण्डारी सह–निर्मातामा छन् । फिल्मका सह–लेखक तथा क्रिएटिभ डाइरेक्टर अमन श्रेष्ठ हुन् । फिल्ममा अभिनय गर्ने कलाकारबारे भने जानकारी गराइएको छैन । दसैंपछि एक कार्यक्रममार्फत कलाकारसहित फिल्मको प्रदर्शन मिति र जनराबारे जानकारी गराइने निर्माण पक्षले जनाएको छ ।

