Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुर्गेश र प्रियंकाले माफी माग्दै युट्युबबाट हटाए ‘मास्टर्नी’को गीत

फिल्मीखबर, काठमाडौं, 2026/07/17

MASTERNI

 

सार्वजनिक भए लगत्तै विवादमा परेको फिल्म ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीत ‘म्याथ सिक्ने भए...’ युट्युबबाट हटाइएको छ । शुक्रबार साँझ फिल्मकी निर्मात्री तथा अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाले सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी माग्दै गीत सम्पूर्ण अडियो तथा भिडियो प्लेटफर्मबाट हटाइएको जानकारी दिएका हुन् । 

दुर्गेशले आफ्नो हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गीतप्रति प्राप्त भएका सम्पूर्ण सुझावलाई मध्यनजर गर्दै मेरा भगवानरूपी दर्शकहरुको भावनाको सम्मान स्वरूप ‘मास्टर्नी’ गीतलाई दुर्गेश थापा युट्युब च्यानल तथा मेरा अन्य सामाजिक सञ्जालहरुबाट आधिकारिक रुपमा हटाइएको जानकारी गराउँदछु ।’

गीतका केही शब्द तथा प्रस्तुतिकरणका कारण दर्शक र शिक्षक-शिक्षिकाको भावनामा ठेस पुगेकोप्रति क्षमायाचना गर्दै उनले गीत विशुद्ध रूपमा फिल्मको प्रचार-प्रसारलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको स्पष्ट पारेका छन् । उनले समाजका मार्गदर्शक शिक्षकप्रति आफ्नो सम्मान सधैँ अटल रहिरहने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

त्यस्तै, प्रियंकाले गीतका केही शब्द र दृश्यले शिक्षक-शिक्षिकाको गरिमामा आँच पुगेकोमा माफी माग्दै यसलाई आफूले गल्ती सुधार्ने महत्त्वपूर्ण पाठका रूपमा लिएको बताएकी छन् । उनले लेखेकी छन्, ‘हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु ।’

फिल्मको ‘म्याथ सिक्ने भए...’ गीतमा प्रयोग द्धिअर्थी शब्दका कारण सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । कतिपयले फिल्म बहिष्कार गर्ने अभियान समेत चलाएका थिए । नेपाल शिक्षक महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै तत्काल गीत हटाउन माग गरेको थियो । सञ्चार मन्त्रालयमा गीतविरुद्ध उजुरी समेत परेको छ ।