विगत दुई महिनादेखि नेपाली फिल्मको व्यापार सुस्ताएको छ । वैशाख २५ गते प्रदर्शनमा आएको ‘लालीबजार’पछि कुनै फिल्मले बक्स अफिसमा व्यावसायिक सफलता हासिल गर्न सकेनन् । असारमा त कुल व्यापार ५० लाख पनि पुग्न सकेन । यो निराशाबीच आज शुक्रबारबाट नयाँ फिल्म ‘गौँथली’ प्रदर्शनमा आएको छ । यो फिल्मप्रति धेरैले ठूलो आशा राखेका छन् ।
एकल रिलिजको दुर्लभ अवसर पाएको यस फिल्मले देशभर डेढ सय हाराहारी शो पाएको छ । केही हलका शोमा टिकट बुकिङ सुखद देखिएको छ । अब दर्शकबाट कस्तो प्रतिक्रिया प्राप्त हुन्छ, त्यसले नै फिल्मको व्यावसायिक भविष्यमा निर्धारण गर्नेछ । गत सोमबार काठमाडौंमा भएको प्रिमियरमा भने फिल्मको कथावस्तुदेखि कलाकारहरूको अभिनयसम्मको प्रशंसा भएको थियो ।
डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा सिम्रन खड्का, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् । फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, डा. भोला रिजालको कथा तथा डा. कपिल रिजाल, निश्चल कुँवर, अभिमन्यू निरवी, शिव शर्मा, निरज नेपाल, मन्दीप गौतम र गिरिराज घिमिरेको पटकथा तथा संवाद लेखन रहेको छ ।

