
यस वर्षको पहिलो त्रैमासिकमा एक दर्जन हाराहारी फिल्म रिलिज भइसकेका छन् । त्यसमा सबैभन्दा कम कमाउने फिल्म ‘जाँड’ बनेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः बक्स अफिसको विवरणमा फिल्मको १० दिनको कमाइ १ लाख १६ हजार ६४५ रुपैयाँ ग्रस रहेको छ । यो यस वर्ष प्रदर्शन भएका फिल्ममध्ये सबैभन्दा कम कमाइ हो ।
अभिनेता रमेश उप्रेतीको समेत अभिनय रहेको यो फिल्मका जम्मा ५६९ वटा टिकट बिक्री भएका छन् । दर्शक अभावका कारण प्रदर्शनको पहिलो दिन नै धेरै हलबाट फिल्म उत्रिएको थियो । दोस्रो साताबाट देशभरका कुनै हलमा फिल्म लागेको छैन । यसरी हेर्दा फिल्मको लगानी पूर्ण रूपमा डुबेको छ । फिल्मले गरेको कमाइबाट निर्माताको हातमा २० हजार पनि नपर्ने देखिन्छ ।
‘जाँड’ यस वर्षको सबैभन्दा कम कमाउने फिल्म बन्दा ‘लालीबजार’ भने वर्षको सर्वाधिक कमाउने फिल्म बनेको छ । बोर्डको तथ्यांक अनुसार २१ असार (आइतबार)सम्म फिल्मले ९ करोड ३२ लाख ९ हजार ९२५ रुपैयाँ ग्रस कमाएको छ । यो अवधिसम्म फिल्मका ३ लाख १७ हजार १२ वटा टिकट बिक्री भएका छन् । अब यो फिल्मलाई १० करोडको आँकडा भने असम्भव देखिन्छ ।
त्यस्तै, फिल्म ‘रोल नं. १’ले ६९ हजार १६६ वटा टिकट बिक्री गर्दै आइतबारसम्म कुल १ करोड ७४ लाख ८५ हजार ६५८ रुपैयाँ ग्रस कमाएको छ । अभिनेता जितु नेपालको लगानी तथा अभिनय रहेको फिल्म ‘आइएम जितबहादुर’ले भने ३१ लाख ३६ हजार ११२ रुपैयाँ ग्रस कमाइ गरेको बोर्डको तथ्यांकमा देखिन्छ । यसको ९ हजार ७४२ वटा टिकट बिक्री भएका छन् ।

