
तेलुगु अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला दुईवटा कारणले चर्चामा छिन् । एउटा, उनी आमा बन्दैछिन् । दोस्रो, उनको मुख्य भूमिका रहेको फिल्म ‘मा इन्टी बंगारम’ले कमाइमा नयाँ कीर्तिमान बनाएको छ । यो तेलुगु फिल्मको इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने महिला-प्रधान फिल्म बनेको छ । यसले ‘अरुन्धती’को कीर्तिमानलाई तोड्दै उक्त उपलब्धि हासिल गरेको हो ।
जुन १९ मा प्रदर्शन भएको यो फिल्मले अहिलेसम्म विश्वभर ८५ करोडभन्दा बढी कमाइ गरिसकेको छ । यसमा ५२ करोड भारतीय बक्स अफिसको योगदान छ । तेलुगुमा महिला-प्रधान फिल्मले गरेको यो अहिलेसम्मकै ठूलो कमाइ हो । यसअघि यो कीर्तिमान फिल्म ‘अरुन्धती’को नाममा थियो, जसले विश्वभर ७० करोड कमाएको थियो । यसमा अनुष्का शेट्टीको मुख्य भूमिका रहेको छ ।
सामन्थाको निर्माण संस्था ‘त्रलाला मुभिङ पिक्चर्स’ले पनि फिल्मले हासिल गरेको उपलब्धिको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेको छ, ‘बंगारमले सुनौलो अक्षरमा इतिहास रचेको छ । ‘मा इन्टी बंगारम’ अब तेलुगु फिल्मको इतिहासमै सर्वाधिक कमाइ गर्ने महिला-प्रधान फिल्म बनेको छ ।’ त्रलालाका अनुसार फिल्मको लागत जम्मा २५ करोड भारु हो ।
तेलुगु फिल्ममा सर्वाधिक कमाइ गर्ने महिला-प्रधान फिल्म ‘मा इन्टी बंगारम’ बनेको भए पनि दक्षिण भारतीय फिल्मको समग्र रेकर्ड भने अझै मलयालम फिल्म ‘लोकाह: च्याप्टर १–चन्द्रा’कै नाममा छ । सन् २०२५ मा प्रदर्शन भएको यस फिल्ममा कल्याणी प्रियदर्शन र नास्लेनको मुख्य भूमिका रहेको छ । फिल्मले विश्वभरबाट ३०० करोडभन्दा बढी कमाइ गरेको थियो ।

