Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महेश र अञ्जनाले सुरु गरे ‘आशा’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/07/16

Aasha team

 

अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहने फिल्म ‘आशा’को छायांकन सुरू भएको छ । एक महिनाको सेड्युल लिएर बुधबार (हिजो)बाट काठमाडौंमा फिल्मको छायांकन थालिएको हो । केही दिनपछि काभ्रेको नमोबुद्ध नगरपालिका र धुलिखेल आसपासका क्षेत्रमा बाँकी छायांकन हुने फिल्मकी निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । 

‘हामी योजना अनुसार नै छायांकनमा निस्किएका हौँ । साउन महिनाभरमा फिल्मको छायांकन सक्ने लक्ष्य राखेका छौँ । हामी नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा अब्बल बनाएर दर्शकमाझ ल्याउने छौँ,’ उनले भनिन् । उनका अनुसार फिल्म एउटा परिवारको कथामा बन्नेछ । फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिने उनले बताइन् । 

राजीव गुरुङको निर्देशनमा बन्ने यस फिल्ममा महेश र अञ्जनासहित शुशांक मैनाली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, चिराग श्रेष्ठ, काश्वी भण्डारी, कविता रेग्मीलगायतको अभिनय रहनेछ । राजीव गुरुङको लेखन तथा रामकुमार श्रेष्ठको सह-लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको डीओपी, युग भुसाल र समीर खरेलको संगीत तथा किशोर आचार्यको साउन्ड डिजाइन रहनेछ ।

निर्देशक गुरुङ ‘आशा’बाट तीन वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले ‘ह्यासट्याग माया’ निर्देशन गरेका थिए । तर, छायांकनकै क्रममा अभिनेता सारुक ताम्राकारको निधन भएपछि फिल्म बन्न सकेन । पछि सारुकले फिल्ममा अभिनय गरेका दृश्य राखेर निर्देशक गुरुङले एउटा भिडियो तयार पारे । फिल्मको निर्माण रोकिँदा उनलाई ठूलो आर्थिक क्षति भएको थियो ।